120 डलर नजिक पुगेको तेल अहिले 69 डलरमा; युद्धजन्य जोखिम घटेसँगै बजार पुरानै लयमा तर आयल निगम माैन


काठमाडौं। चार महिनाअघि विश्व बजारमा तेलको मूल्य 120 डलर नजिक पुगेको थियो। हाल WTI 69 डलर क्षेत्रमा झर्दा मूल्यमा करिब 42 प्रतिशतभन्दा बढी गिरावट आएको देखिन्छ।

यसले बजारमा युद्धको प्रभाव क्रमशः कमजोर बन्दै गएको र लगानीकर्ताहरू पुनः वास्तविक माग तथा आपूर्तिको आधारमा निर्णय लिन थालेको संकेत दिएको छ।

विश्व ऊर्जा बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। केही महिनाअघि मध्यपूर्वमा बढ्दो भू-राजनीतिक तनावका कारण प्रति ब्यारेल 120 अमेरिकी डलरसम्म पुगेको कच्चा तेल अहिले युद्ध सुरु हुनुअघिकै मूल्यस्तरमा फर्किएको देखिएको छ।

पछिल्लो बजार तथ्यांकअनुसार WTI (West Texas Intermediate) Crude Oil प्रति ब्यारेल 69.81 डलरमा कारोबार भइरहेको छ, जुन एकै दिनमा 4.64 प्रतिशतले घटेको हो। त्यसैगरी, Brent Crude 73.44 डलरमा झर्दै 4.72 प्रतिशतको गिरावट दर्ज गरेको छ। Murban Crude पनि 67.24 डलरमा झरेको छ।

विश्लेषकहरूका अनुसार अमेरिका–इरानबीचको तनाव थप नबढ्ने संकेत, तेल आपूर्तिमा सुधार र बजारमा रहेको ‘युद्ध प्रिमियम’ हट्दै जाँदा तेलको मूल्यमा तीव्र दबाब परेको हो।

ऊर्जा बजारका जानकारहरूका अनुसार तेल मूल्यमा आएको गिरावटका मुख्य कारणहरू:
– अमेरिका–इरान तनाव कम हुने संकेत
– मध्यपूर्वबाट तेल आपूर्तिमा तत्काल अवरोध नदेखिनु
– विश्व अर्थतन्त्रको सुस्त वृद्धिका कारण मागमा दबाब
– बजारमा रहेको ‘War Premium’ हट्दै जानु
यी कारणले केही सातादेखि तेल बजारमा लगातार बिक्री दबाब देखिएको छ।
अबको दिशा के होला?
प्राविधिक विश्लेषणले WTI तेल 70 डलरभन्दा तल स्थिर रहिरहे अर्को महत्वपूर्ण समर्थन क्षेत्र 56–60 डलर बीच देखिएको संकेत गर्छ। तर मध्यपूर्वमा पुनः तनाव बढेमा बजारमा फेरि उतारचढाव आउन सक्ने सम्भावना कायम छ।