काठमाण्डौ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार पुनः घटेको छ। अमेरिकी डलर मजबुत हुनुका साथै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भद्वारा ब्याजदर बढाउने अपेक्षा बलियो बनेसँगै सुनको माग कमजोर देखिएको हो।
आज सुनको मूल्य करिब २.८४ प्रतिशत अर्थात ११७ डलरले घट्दै प्रतिऔंस ४०६६ डलरमा झरेको छ। यो मूल्य पछिल्ला करिब दुई साताकै न्यून हो। विश्लेषकहरूका अनुसार अमेरिकी ब्याजदर बढ्ने अपेक्षाले लगानीकर्तालाई सुरक्षित तर नाफा नदिने सम्पत्ति जस्तै सुनबाट टाढा लगिरहेको छ। ब्याजदर उच्च हुँदा सरकारी बन्ड तथा डलरमा प्रतिफल बढ्ने भएकाले सुनको आकर्षण घट्ने गर्छ।
बजार विश्लेषकहरूले आगामी दिनमा जारी हुने अमेरिकी मुद्रास्फीति सूचकांक रिपोर्टले फेडको आगामी नीतिगत निर्णयमा महत्वपूर्ण संकेत दिने र त्यसअनुसार सुनको मूल्यमा थप उतारचढाव आउन सक्ने बताएका छन्।
यस्तै आज चाँदीको भाउमा समेत उच्च गिरावट आएको छ । चाँदीको मूल्य ६.११ प्रतिशत अर्थात ४ डलरले घट्दै प्रतिऔंस ६१ डलरमा सीमित बनेको छ।