काठमाडौं। आगामी मनसुनका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै सरकारले पूर्वतयारी र प्रतिकार्यका सम्पूर्ण कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक सबै तयारी समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।
बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ को प्रभावकारी कार्यान्वयनमा जोड दिँदै कार्ययोजनाअनुसार भएका तयारी र प्रगतिबारे सम्बन्धित सबै निकायले प्रत्येक महिना प्राधिकरणमा प्रतिवेदन पेश गर्नुपर्ने निर्णय गरेको छ।
मनसुनका समयमा जोखिम बढ्न सक्ने खोलानाला, नदी आसपासका क्षेत्र, पानीको बहाव उच्च हुने राष्ट्रिय राजमार्ग तथा स्थानीय सडक सञ्जालमा आवश्यकताअनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यसैगरी बाढी–पहिरोका कारण अवरुद्ध हुन सक्ने राजमार्ग तथा सडक तत्काल सञ्चालनमा ल्याउन आवश्यक पर्ने डोजर, एक्स्काभेटर लगायतका हेभी इक्युपमेन्ट चालकसहित २४ सै घण्टा तयारी अवस्थामा राख्न सडक विभाग, सातै प्रदेश सरकार तथा ७५३ वटै स्थानीय तहलाई अनुरोध गरिएको छ।
खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक न्यूनतम सामग्री तयारी अवस्थामा राख्न तथा सडक अवरुद्ध भई यातायात सेवा बन्द हुन सक्ने क्षेत्रमा कम्तीमा १५ दिनसम्म खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन स्थानीय सरकारलाई निर्देशनात्मक अनुरोध गरिएको छ।
बैठकले छिमेकी राष्ट्रबाट आउन सक्ने बाढी तथा अन्य अन्तरदेशीय विपद्सम्बन्धी पूर्वसूचना समयमै प्राप्त गर्न कूटनीतिक पहल आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि परराष्ट्र मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरेको छ।
प्राधिकरणले यस वर्षको मनसुनलाई चुनौतीपूर्ण मान्दै संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, पूर्वतयारी र शीघ्र प्रतिकार्य नै सम्भावित जनधनको क्षति न्यूनीकरण गर्ने प्रमुख आधार हुने जनाएको छ।