देशका विभिन्न भूभागमा हालै भएको अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुवानबाट उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको छ। यस विपद्को घडीमा प्रभावित नागरिकहरूको तत्काल राहत, उद्दार र पुनःस्थापनाका लागि राष्ट्रको एकजुटको आवश्यकतालाई मनन गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा राष्ट्रिय वाणिज्य बैंकद्वारा रु २ करोड आर्थिक सहयोग प्राप्त भएको जानकारी गराउन चाहन्छौं।
साथै भाटभटेनी सुपरमार्केटद्वारा रु १,११,११,१११ र युनिलिभर नेपालद्वारा रु २० लाखको आर्थिक सहयोग प्राप्त भएको जानकारी गराउन्छौं।
साथै, अन्य विभिन्न संघसंस्थाहरूबाट समेत यस विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएकोमा सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
राष्ट्रलाई परेको यस संकटको घडीमा सहयोगी हातहरू अघि बढाएर मानवीय दायित्व निर्वाह गर्नुहुने सबैलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट गहिरो कृतज्ञता व्यक्त गर्दछौं।
यस विपद्को चपेटामा परि दिवङ्गत हुनुहुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना तथा घाइतेहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
विपद्को समयमा आम नागरिकलाई सुरक्षित रहन र सचेततापूर्वक सावधानी अपनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट विशेष अपिल समेत गर्दछौं!