जेसीबी खरिद अब झन् सहज: एम.ए.डब्लु. अर्थमुभर्स–ग्लोबल आइएमई बैंक सहकार्य, असी प्रतिशत सम्म कर्जा सुविधा
Economic Khabar
९ असार २०८३, मंगलवार ०७:३६
काठमाडौं। निर्माण तथा पूर्वाधार क्षेत्रमा प्रयोग हुने आधुनिक जेसीबी उपकरण खरिदलाई सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका एफ एण्ड आर प्रमुख सञ्जय देव यादव तथा ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका थिए।
यस सहकार्यसँगै जेसीबी निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकले ग्लोबल आइएमई बैंकका शाखामार्फत विशेष हायर पर्चेज कर्जा सुविधा लिन सक्नेछन्। नेपाल राष्ट्र बैंकको प्रचलित लोन टु भ्यालु (LTV) अनुपातअनुसार उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।
ग्राहकको समयलाई ध्यानमा राख्दै आवश्यक कागजात तथा प्रक्रिया पूरा भएको एक साताभित्र डेलिभरी अर्डर (डीओ) जारी गर्ने व्यवस्था गरिएको छ। साथै, ग्राहकले जेसीबी उपकरण खरिदका लागि अधिकतम पाँच वर्ष अवधिसम्म कर्जा सुविधा उपयोग गर्न सक्नेछन्।
कम्पनीका अनुसार यस सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा साना–मझौला उद्यमीलाई आधुनिक उपकरण खरिदमा सहज पहुँच प्रदान गर्नेछ। प्रतिस्पर्धी वित्तीय व्यवस्था र सरल प्रक्रिया मार्फत व्यवसाय विस्तार तथा उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विश्वसनीय जेसीबी उपकरण, एम.ए.डब्लु. अर्थमुभर्सको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल तथा ग्लोबल आइएमई बैंकको वित्तीय सेवाको संयोजनले ग्राहकलाई उपकरण खरिददेखि सञ्चालन र मर्मतसम्भारसम्म एकीकृत तथा भरपर्दो समाधान प्रदान गर्ने विश्वास लिइएको छ।
दुवै संस्थाले आगामी दिनमा पनि ग्राहककेन्द्रित सेवा विस्तार गर्दै नेपालको निर्माण क्षेत्र तथा पूर्वाधार विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।