औषधि बजारका चुनौतीबारे अन्तरक्रिया तथा अग्रज व्यवसायी सम्मान कार्यक्रम सम्पन्न
Economic Khabar
२९ जेष्ठ २०८३, शुक्रबार १४:५७
काठमाडौं। नेपाल औषधि थोक व्यवसायी संघ (PDAN) को आयोजनामा ‘औषधि बजारको विद्यमान चुनौती’ विषयक अन्तरक्रिया एवं अग्रज थोक व्यवसायी सम्मान कार्यक्रम–२०८३ सम्पन्न भएको छ।
काठमाडौंको पकनाजोलस्थित गोकर्ण हाउसमा आयोजित कार्यक्रममा औषधि बजारले सामना गरिरहेका चुनौती, व्यवसायिक वातावरण, आपूर्ति प्रणाली तथा नियामकीय विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष गणेश नेपालको अध्यक्षता रहेको थियो।
अन्तरक्रियामा सहभागी व्यवसायीहरूले औषधि वितरण प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन आवश्यक नीतिगत सुधारका विषयमा धारणा राखेका थिए। उनीहरूले औषधि व्यवसायमा देखिएका समसामयिक समस्या समाधानका लागि सरकार, नियामक निकाय र निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए।
प्रमुख अतिथि पौडेलले स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष जोडिएको औषधि व्यवसायलाई जिम्मेवार, मर्यादित र जनमुखी बनाउन व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै औषधिको सहज उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
अध्यक्ष गणेश नेपालले संघले व्यवसायीहरूको हकहित संरक्षणसँगै सुरक्षित र व्यवस्थित औषधि व्यापार प्रवर्द्धनका लागि निरन्तर पहल गर्दै आएको बताउनुभयो। उहाँले यस्ता अन्तरक्रिया कार्यक्रमले व्यवसायी र सरोकारवाला निकायबीच संवाद तथा सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा औषधि थोक व्यवसायको विकास र विस्तारमा दीर्घकालीन योगदान पुर्याएका अग्रज व्यवसायीहरूलाई सम्मान समेत गरिएको थियो। सम्मानित व्यक्तित्वहरूको योगदानले औषधि आपूर्ति प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको वक्ताहरूले उल्लेख गरेका थिए।