काठमाडौँ। नेपालको घरजग्गा, आवास र निर्माण क्षेत्रका व्यवसायी, लगानीकर्ता तथा उपभोक्तालाई एउटै छानामुनि ल्याउने उद्देश्यसहित ‘९ औँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
नेपाल जग्गा तथा आवास विकास महासङ्घ र नेपाल जग्गा तथा आवास विकास सङ्घको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिकोत्सव (हिरक जयन्ती)को अवसरमा आयोजना गर्न लागिएको हो।
प्रदर्शनी संयोजक रोशन भोयद्याका अनुसार संविधानले प्रत्याभूत गरेको ‘आवासको हक’ कार्यान्वयनमा योगदान पुर्याउने तथा आवास र निर्माण क्षेत्रका नवीनतम प्रविधि, सेवा र अवसरहरू एकै स्थानमा प्रस्तुत गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार प्रदर्शनीमा नेपालसहित मलेसिया, बङ्गलादेश, इन्डोनेसिया, भियतनाम र भारतका व्यवसायीहरूको सहभागिता रहनेछ। घरजग्गा विकासकर्ता, अपार्टमेन्ट परियोजना, निर्माण सामग्री उत्पादक, इन्जिनियर, आर्किटेक्ट, बैंक तथा बीमा कम्पनीलगायतका स्वदेशी तथा विदेशी संस्थाका १०० भन्दा बढी स्टल रहनेछन्।
मेलामा आधुनिक आवास तथा जग्गा विकास योजना, सिमेन्ट, स्टिल, विद्युत सामग्री, सौर्य ऊर्जा प्रणाली, इन्टेरियर डिजाइन, स्मार्ट फर्निचर तथा भर्चुअल रियालिटी (VR) र अग्मेन्टेड रियालिटी (AR) जस्ता अत्याधुनिक प्रविधिको प्रदर्शन गरिनेछ।
आयोजकले प्रदर्शनीलाई केवल व्यापारिक कार्यक्रम नभई नीति निर्माता, निजी क्षेत्र, प्राविधिक विज्ञ र उपभोक्ताबीच संवादको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। कार्यक्रममा विज्ञबाट प्रत्यक्ष परामर्श सेवा, नयाँ उत्पादन सार्वजनिक गर्ने अवसर तथा लगानीसम्बन्धी जानकारी पनि उपलब्ध गराइनेछ।
आर्थिक गतिविधि सुस्ताइरहेको वर्तमान अवस्थामा आयोजना हुन लागेको प्रदर्शनीले घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउन, कारोबारलाई थप पारदर्शी र व्यवस्थित बनाउन तथा सुरक्षित लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आयोजकको दाबी अनुसार प्रदर्शनीले दीगो, वातावरणमैत्री र व्यवस्थित सहरी विकासको अवधारणालाई प्रवर्द्धन गर्दै नेपालको भविष्यको आवास तथा निर्माण क्षेत्रको मार्गनिर्देशन गर्नसमेत महत्त्वपूर्ण भूमिका खेल्नेछ।