काठमाडौं। Nepal Agricultural Research Council (NARC) को ३५औँ स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा कृषि अनुसन्धानको अवस्था, संस्थागत चुनौती र भावी रणनीतिका विषयमा विस्तृत छलफल गरिएको छ।

कार्यक्रममा नार्कका याेजना निर्दशक डा. भानुभक्त पाेखरेलले समग्रमा नार्कमा विगतदेखि वर्तमानसम्मको प्रगति, संस्थाले भोगिरहेका समस्या तथा आगामी रणनीतिक योजनाबारे प्रस्तुति दिएका थिए। उनले सीमित स्रोत–साधन र जनशक्ति अभावका बाबजुद कृषि अनुसन्धानमार्फत उत्पादन वृद्धि, उन्नत जात विकास तथा खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुगेको बताए।
उनले वैज्ञानिक तथा प्राविधिक जनशक्तिको ठूलो हिस्सा रिक्त रहँदा अनुसन्धान प्रणाली प्रभावित भएको उल्लेख गर्दै कृषि अनुसन्धानलाई राज्यले अझ उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए। अनुसन्धानमा पर्याप्त लगानी, आधुनिक प्रयोगशाला, प्रविधिमैत्री पूर्वाधार र युवा वैज्ञानिकलाई प्रोत्साहन नगरे कृषि क्षेत्रको रूपान्तरण कठिन हुने उनको भनाइ थियो।

कार्यक्रममा जलवायु परिवर्तन, खाद्य आयात बढ्दो चुनौती, उन्नत बीउ उत्पादन, प्रविधि हस्तान्तरण तथा कृषिमा नवप्रवर्तनका विषयमा समेत चर्चा गरिएको थियो। सहभागीहरूले अनुसन्धान केन्द्रित कृषि नीतिबिना उत्पादन वृद्धि र आत्मनिर्भरता सम्भव नहुने धारणा राखेका थिए।

कामु कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठकाे अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा पत्रकार र कृषि अनुसन्धानसँग सम्बन्धित विज्ञ, वैज्ञानिक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।