अब अर्थतन्त्रलाई गति दिन निजी क्षेत्र अगाडि आउँछ’ एफएनसीसीआई अध्यक्ष अन्जन श्रेष्ठ


काठमाडौं। एफएनसीसीआईका नवनिर्वाचित अध्यक्ष अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रको मनोबल पुनःस्थापित गर्दै सरकारसँग सहकार्य गरेर सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

महासंघको ६०औँ वार्षिक साधारणसभाबाट नेतृत्व सम्हालेपछि अध्यक्ष श्रेष्ठले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम सार्वजनिक गर्दै निजी क्षेत्रमैत्री वातावरण निर्माण, लगानी प्रवर्द्धन, संस्थागत सुधार तथा दीर्घकालीन आर्थिक स्थायित्वलाई आफ्नो कार्यकालको प्राथमिकतामा राख्ने बताएका हुन्।

पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ सरकारसँग निरन्तर संवाद भइरहेको र निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि महासंघले अघि सारेको ‘Private Sector Promotion and Protection (PSPP)’ रणनीति कार्यान्वयनतर्फ अघि बढिरहेको जानकारी दिए।

अध्यक्ष श्रेष्ठले अहिलेको अर्थतन्त्रमा माग संकुचन, कमजोर क्रयशक्ति र लगानीको सुस्तताले चुनौती सिर्जना गरेको उल्लेख गरे। विशेषगरी साना तथा मझौला उद्योगीहरू पुँजी अभावका कारण दबाबमा परेको भन्दै उनले सहकारी क्षेत्रको संकटले बजारमा थप असर पुर्‍याएको बताए।

“बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा हुँदै पनि त्यो उत्पादनशील क्षेत्रमा पुग्न सकेको छैन,” उनले भने, “अब वित्तीय स्रोतलाई उद्योग, उत्पादन र रोजगारी सिर्जनासँग जोड्न सरकार र निजी क्षेत्रबीच परिणाममुखी सहकार्य आवश्यक छ।”

उनले उद्योगी व्यवसायीमा देखिएको निराशा अन्त्य गर्दै लगानीमैत्री वातावरण निर्माण, नीतिगत स्थायित्व र निजी क्षेत्रप्रति सकारात्मक धारणा विकास गर्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गरे।

नयाँ नेतृत्वसँगै महासंघले आर्थिक पुनरुत्थान, निर्यात प्रवर्द्धन, रोजगारी विस्तार र निजी क्षेत्रको विश्वास पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाउने संकेत दिएको छ।