ब्रसेल्स। लामो समयदेखि समानान्तर रूपमा गतिविधि सञ्चालन गर्दै आएका NRNA Belgium का दुई कार्यसमितिबीच अन्ततः एकता भएको छ। विभिन्न चरणका छलफल, आन्तरिक संवाद र समन्वयपछि दुवै पक्ष समायोजनमार्फत एउटै संरचनामा अघि बढ्न सहमत भएका हुन्।
सहमति अनुसार अब दुवै कार्यसमितिलाई समेटेर संयुक्त नेतृत्व निर्माण गरिनेछ। सहमतिअनुसार कार्यकारी अध्यक्षको जिम्मेवारी प्रारम्भिक चरणमा Kamal Panthi ले आगामी अक्टोबर ११ सम्म सम्हाल्नेछन्। त्यसपछि नेतृत्व हस्तान्तरण गर्दै Lokendra Nepal ले कार्यकारी अध्यक्षको जिम्मेवारी ग्रहण गर्ने सहमति भएको छ।
एनआरएनएभित्र लामो समयदेखि देखिएको गुटगत विवाद र नेतृत्व संघर्षका कारण विभिन्न देशका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरू प्रभावित भइरहेका बेला बेल्जियममा भएको यो सहमतिलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ। दुवै पक्षले संगठनको साझा उद्देश्य, प्रवासी नेपालीको हित र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सहमति प्रक्रियामा मध्यस्थता, समन्वय र संवादमा भूमिका खेल्ने विभिन्न व्यक्तित्व तथा अभियन्ताप्रति दुवै समूहले आभार व्यक्त गरेका छन्। “व्यक्तिगत आग्रहभन्दा संस्थाको भविष्य ठूलो हो भन्ने भावना अनुसार सहमति सम्भव भएको हो,” एक नेताले बताएका छन्।
प्रवासी नेपाली समुदायभित्र लामो समयदेखि देखिएको विभाजनले संस्थाको प्रभावकारिता र विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला बेल्जियमको यो एकतालाई अन्य देशका एनसीसीका लागि पनि उदाहरणका रूपमा लिइएको छ। विशेषगरी युरोपका केही देशमा देखिएको समानान्तर गतिविधि र नेतृत्व विवाद समाधानका लागि यो सहमतिले मनोवैज्ञानिक दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।
एनआरएनए अभियन्ताहरूका अनुसार अब संस्थाभित्र “को सही, को गलत” भन्ने बहसभन्दा पनि “कसरी एकताबद्ध भएर अघि बढ्ने” भन्ने विषय मुख्य बन्न थालेको छ। विश्वभर रहेका नेपाली समुदायको साझा मञ्चको रूपमा स्थापित संस्थालाई बलियो बनाउन आन्तरिक सहमति र समावेशी नेतृत्व आवश्यक रहेको उनीहरूको भनाइ छ।
बेल्जियममा भएको सहमतिपछि अब अन्य देशका एनसीसीहरूमा पनि एकता प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। प्रवासी नेपाली समुदायले पनि यसलाई संस्थागत स्थायित्व र भावनात्मक एकताको सकारात्मक सुरुवातका रूपमा हेरेका छन्।