काठमाडौँ। राष्ट्रिय कृषक समूह महासंघ नेपालले पछिल्ला केही दिनदेखि देशभर परेको अविरल वर्षा र हावाहुरीका कारण किसानहरू गम्भीर संकटमा परेको भन्दै तत्काल राहत, क्षतिपूर्ति र दीर्घकालीन कृषि सुरक्षा योजना लागू गर्न सरकारसमक्ष अपिल गरेको छ।
महासंघद्वारा जारी विज्ञप्तिअनुसार विशेषगरी दाङ, बर्दिया र बाँके जिल्लाका किसानहरू बढी प्रभावित भएका छन्। तीन महिनादेखि लगाएर हुर्काइएको मकैबाली ढलेर कुहिने अवस्था सिर्जना भएको र उत्पादनमा करिब ५० प्रतिशतसम्म क्षति पुग्ने प्रारम्भिक अनुमान गरिएको उल्लेख गरिएको छ।
महासंघले यस अवस्थाले केवल किसानको आम्दानीमा मात्र नभई स्थानीय खाद्य प्रणाली र खाद्य सुरक्षामा समेत गम्भीर असर पार्ने चेतावनी दिएको छ। “किसानको खाद्य अधिकार नै प्रभावित हुने अवस्था बनेको छ,” विज्ञप्तिमा उल्लेख छ।
महासंघले प्राकृतिक विपद्बाट भएको कृषि क्षतिको वास्तविक तथ्यांक तत्काल संकलन गरी पीडित किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। साथै, वर्षेनी दोहोरिने यस्ता विपद्बाट कृषि क्षेत्रलाई जोगाउन पूर्वतयारी योजना, जोखिम न्यूनीकरण कार्यक्रम र किसानसम्म छिटो सहायता पुग्ने प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
विज्ञप्तिमा जलवायु परिवर्तनका कारण कृषि क्षेत्र थप जोखिममा पर्दै गएको उल्लेख गर्दै विपद् व्यवस्थापन र कृषि नीतिलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ। महासंघले किसानमैत्री बीमा, आपत्कालीन राहत कोष तथा स्थानीय तहसम्म द्रुत उद्धार र सहयोग प्रणाली निर्माण गर्न पनि माग गरेको छ।
