ईकोनोमिक खबर, काठमाडौं।
नेपाल सरकारलाई भूकम्प पश्चातको पुनर्निमाणमा भारत सरकारले गर्ने सहयोगको रकम मध्ये बाँकी आवास पुनर्निमाणका लागि ने.रु. १ अर्ब ६० करोड उपलब्ध गराएको हो।
नेपालका सम्माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले अर्थसचिव डा. राजन खनाललाई ने.रु. १ अर्ब ६० करोडको चेक हस्तान्तरण गर्नुभयो ।
भुकम्प प्रभावित जिल्ला मध्ये नुवाकोट र गोरखा जिल्लाका ५०,००० लाभग्राहीहरुलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि उक्त रकम उपलब्ध गराएको हो । हाल सम्म भारत सरकारले नेपाल सरकारलाई ने.रु. ४ अर्ब ५० करोड प्रदान गरिसकेको छ ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप घरधनीहरुले घर पुनर्निमाण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीहरुलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न युएनडिपी तथा युएनओप्ससँग साझेदारी गरिरहेको छ ।
उक्त कार्यक्रममा नेपाल सरकारले भूकम्प पश्चातको पुनर्निमाणमा भारत सरकारले प्रदान गरेको अटुट तथा उदार मानवीय सहयोगका लागि सराहनाको जानकारी गराए । सोही अवसरमा उक्त साझेदारीका लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै राजदूत मन्जीव सिंह पुरीले भारत सरकार तथा भारतीय जनता नेपालमा भूकम्प पश्चातको पुनर्निमाण परियोजना पूरागर्न प्रतिबद्ध रहेको कुरा दोहो-याउनुभयो ।