काठमाडौँ। म्युजिक भिडियो कलाकार सङ्घको आयोजनामा वार्षिक क्यालेन्डर तथा भित्तेपात्रो विमोचन, विशिष्ट तथा वरिष्ठ कलाकारहरूलाई मानार्थ सदस्यता परिचयपत्र वितरण तथा सङ्घका मनोनित सल्लाहकारहरूलाई नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रम अनामनगरस्थित सिलेटो कटेजमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा बरिष्ठ सङ्गीतकर्मी शम्भु राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व म्युजिक भिडियो कलाकार सङ्घका कार्यवाहक अध्यक्ष सुनील लामिछानेले गरेका थिए।
कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू दुर्गा राईमाझी, नारायण राईमाझी, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी,चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, रोयल्टी संकलन समाजका उपाध्यक्ष पी एन सापकोटा लगायत विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरु उपस्थिति रहेको थियो ।
साथै सङ्घका सल्लाहकारहरू बाबुराज केसी”उज्ज्वल “, हरी डागी ,देवेन्द्र बजगाईँ, शेषकान्त पुरी, घनश्याम आचार्य, शिवन पोखरेल लगायतका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा म्युजिक भिडियो क्षेत्रमा अतुलनीय योगदान पुर्याएका विशिष्ट कलाकारहरू राजेश हमाल, भुवन केसी, धिरेन शाक्य लगायतका विशिष्ट कलाकारहरुलाई “विशिष्ट म्युजिक भिडियो कलाकार”को मानार्थ परिचयपत्र प्रदान गरिएको थियो।
त्यसैगरी म्युजिक भिडियो क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका कलाकारहरू संस्थाकी संस्थापक अध्यक्ष अन्जु निरौला, निवर्तमान अध्यक्ष सम्झना बुढाथोकी , सुरबिर पण्डित, बिनोद श्रेष्ठ, सविन श्रेष्ठ, रञ्जन रिजाल, अशोक घिताल तथा लोकप्रिय कलाकार पल शाहलाई वरिष्ठ म्युजिक भिडियो कलाकार को मानार्थ परिचयपत्र प्रदान गरिएको सङ्घले जनाएको छ।
कार्यक्रमका संयोजक तथा सङ्घका महासचिव सनम कठायतले म्युजिक भिडियो क्षेत्रलाई संस्थागत, व्यवस्थित र मर्यादित बनाउँदै कलाकारहरूको पेशागत सम्मान अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताए।
साथै वार्षिक क्यालेन्डरमा समावेश गरिएका योजनाबद्ध कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न सबै कलाकार, स्रष्टा र शुभेच्छुकहरूको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।
उक्त कार्यक्रममा नेपाली कलाकारिता क्षेत्रका उल्लेख्य व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। वक्ताहरूले कार्यक्रमको उद्देश्य अत्यन्तै अर्थपूर्ण रहेको उल्लेख गर्दै यसै उद्देश्यअनुसार संस्था अघि बढे देशका कलाकारहरूको हकहित र पेशागत सम्मानका लागि बलियो संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए। साथै म्युजिक भिडियो कलाकार संघले कलाकारद्वय दुर्गा भट्ट र निरुता कुवर बिष्टलाई आर्थिक सहयोग समेत गरेको थियो ।