रिलायबल नेपाल लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध हुँदै


ईकोनोमिक खबर, काठमाडौं।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोगगरि डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने गरि दुई संस्था बिच सम्झौता भएको छ । सम्झौता पत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लि. यस क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने,पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई NCHL-IPS/connect IPS e-Payment प्रणालीसँग आबद्ध भएपछि एजेन्ट कमिशन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानी सम्बन्धी कारोबारहरु यस संस्थासंग आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्नसकिनेछ । यो प्रणालीमा आबद्ध भए लगतै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो बीमा शूल्क(प्रिमियम) पनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहिहरुका बैंक खाताहरुबाट हुनेछन् ।