वन संरक्षण र समृद्धिबीच सन्तुलनका लागि नीतिगत परिमार्जनको कार्य गर्दैछौँः मन्त्री चौधरी


काठमाडौँ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले वन संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि नीतिगत सुधारमा आवश्यक कार्य गरिहेको बताउनु भएको छ।

मन्त्री चौधरीले ३१ औँ वन्यजन्तु सप्ताहको अवसरमा आयोजित नीति सम्बाद कार्यक्रममा चौधरीले वन संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि नीतिगत सुधारको आवश्यक कार्य गरिरहेको बताउनुभएको हो।

उहाँका अनुसार, स्थानीय समुदायको अर्थपूर्ण सहभागितामार्फत प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्न संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याइएको छ। ती कार्यक्रमहरूले स्थानीय समुदायलाई लाभान्वित बनाएको र धेरै हदसम्म सफल भएपनि बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिवेशअनुसार नीतिहरू परिमार्जन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै आफूले काम गरिरहनुभएको बताउनुभएको हो ।

उहाँले संरक्षित क्षेत्र तथा वन्यजन्तु संरक्षणमा राज्यले ठूलो लगानी गरेको भए पनि प्रत्यक्ष आर्थिक लाभ सीमित देखिने उल्लेख गर्दै वातावरण संरक्षण र पर्यावरणीय सेवामा यिनको योगदान अतुलनीय रहेको बताउनुभयो । साथै, संरक्षणको मूल मर्ममा असर नपर्ने गरी यी क्षेत्रलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री चौधरीले जैविक विविधता संरक्षण तथा व्यवस्थापनलाई निर्देशित गर्ने मुख्य कानुन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लगायतका कानुन, नियमावली र कार्यविधिहरूलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको करिब ८ प्रतिशत भूभाग निकुञ्ज र १ प्रतिशत आरक्ष क्षेत्रमा पर्ने सन्दर्भमा पर्यापर्यटन विकास र कार्बन व्यापार जस्ता माध्यमबाट अप्रत्यक्ष लाभ लिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारसँग जोडिएको यस विषयमा आयोजित कार्यक्रमबाट प्राप्त सुझावहरू वन तथा वातावरण मन्त्रालयका लागि नीतिगत सुधारको ठोस आधार बन्ने मन्त्री चौधरीको विश्वास छ ।

नेपालमा वन्यजन्तु एवं जैविक विविधता संरक्षणको महत्व र दिगो उपयोग गर्न जनचेतना अभिवृद्धि गर्ने उदेश्य सहित वन्यजन्तु सप्ताह मनाउन शुरू गरिएको थियो । यसैलाई निरन्तरता दिन यस वर्ष पनि “ सुरक्षित मानिस, संरक्षित वन्यजन्तुः जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु” भन्ने मुल नाराका साथ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र सो अन्तरगतको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र संरक्षण क्षेत्र कार्यालयहरु तथा अन्य सम्बद्ध निकायहरुले बिभिन्न कार्यक्रमहरु सहित ३१ औ वन्यजन्तु सप्ताह २०८३ को सम्पन्न भएको छ ।