काठमाडौं । चलचित्र पत्रकार संघ नेपालमा सम्पन्न निर्वाचनमा एमाले निकट पत्रकारहरूको प्यानलले बहुमत हासिल गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। कुल १४० मत खसेको उक्त निर्वाचनमा अधिकांश पदमा सोही प्यानलका उम्मेदवार विजयी भएका हुन्।
अध्यक्ष पदमा समिर बलामी ९५ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४२ मत प्राप्त गरे। उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा ७३ मतसहित निर्वाचित हुँदा नविन गिरि ६२ मतमा सीमित भए। उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, उपाध्यक्ष (महिला) मा दिपज्योति थापा ७५ मतसहित विजयी भइन् भने सुष्मा कार्कीले ६२ मत प्राप्त गरिन्। महासचिवमा गोपी कृष्ण चापागाई ५४ मतसहित विजयी हुँदा मनिष कार्की ४४ मतमा सीमित भए।
सचिव पदमा मदन रिजाल ९४ मतसहित विजयी भए भने सुरेन्द्र थापा मगरले ४५ मत प्राप्त गरे। सचिव (समावेशी) मा महम्मद जालिम निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा मनिष अन्जान ७४ मतसहित विजयी हुँदा निशा बजगाईले ६५ मत प्राप्त गरिन्। सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं ६२ मतसहित विजयी भए भने भोला प्रणव सुवेदीले ४२ मत पाए।
सदस्य पदमा सोजना विक लोहार, सुशिल नेपाल, दिनेश थापा, नविन चापागाई, रतन बहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन परिणामसँगै चलचित्र पत्रकार संघमा एमाले निकट पत्रकारहरूको बलियो उपस्थिति देखिएको छ। नयाँ कार्यसमितिले पत्रकारिताको व्यावसायिकता, पारदर्शिता र चलचित्र क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।