काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थतन्त्र सुधार भएको दाबी गरे । नेकपा एमाले निकट व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आएसँगै अर्थतन्त्र पनि सुधारको बाटोमा गएको धारणा राखे।
उनले कार्यक्रममा यति पनि भन्न भ्याए कि अब उद्योगी व्यवसायीले समस्या भोग्नुपर्दैन, यो सरकार हामीले नै चलाइरहेका छौं थान्नुहोस् । उनले अहिलेको संसदले सबैभन्दा बलियो सरकार निर्माण गरेको दाबी गर्दै निजी क्षेत्रले विगतको जस्तो समस्याहरू भोग्न नपर्ने धारणा राखे। अर्थतन्त्र थप सुधारका लागि खपत बढाउनुपर्ने उनको भनाइ थियो।
उनले भने, ‘वर्तमान सरकारले नीजि क्षेत्रको महत्व बुझेको छ, म दोहोर्याएर भन्न चाहन्छु नीजि क्षेत्रको महत्व अहिलेको सरकारले बुझेको छ, हामिले भन्ने गरेका छौं तीन खम्बे अर्थतन्त्र सरकारी क्षेत्र, सहकारी क्षेत्र र नीजि क्षेत्र, नीजि क्षेत्रको भूमिकालाई कमजोर बनाएर, नीजि क्षेत्रको भूमिकालाई न्युनिकरण गरेर, नीजि क्षेत्रमा संकुचनको अवस्था सिर्जना गरेर हामिले अर्थतन्त्रका आजका चुनौतिहरुको सामना गर्न सक्दैनौं, देशको अर्थतन्त्रलाई दिगो बनाएर अगाडि लग्न सक्दैनौं।’
साथै, उनले गरेको कामको भुक्तानी सरकारले नरोक्ने भन्दै नीजि क्षेत्रका व्यवसायी सबैले भुक्तानी पाउने बताएका छन्। उनले भने, ‘नीजिका क्षेत्रका निर्माण व्यवसायीहरुले भन्नु हुन्छ भुक्तानी पाउनुपर्छ भनेर तर सरकारले गरेको कामको भुक्तानी दिन्छौं हामी भनेर भनिरहेको छ।
जब हामी काममा लगाउँछौं रितपूर्वक कानून सम्वद्ध ढंगले काम गरेको भुक्तानी सबैले पाउनुपर्छ, सम्बन्धित मन्त्रालयमा जानुस्, सम्बन्धित निकायमा जानुस् तपाईंले सम्पन्न गरेको कामको भुक्तानी पाउनु हुन्छ भन्यो सरकारले र क्रमशः भुक्तानी भैइरहेको पनि छ।’
यस्तै, उनले बाँकी रहेको भुक्तानीको लागि रितपूर्वक दाबी गर्न आग्रह गरे । उनले जुनसुकै परिस्थितिमा पनि सरकारले भुक्तानी नरोक्ने आश्वासन पनि व्यक्त गरे।