अस्पताल सेवा सुधारमा कडाइ: मन्त्री निशा मेहताको स्पष्ट निर्देशन


काठमाडौं । निशा मेहता, स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रीले मन्त्रालयको प्रगतिको संक्षिप्त समीक्षा गर्दै नागरिकले पाउने स्वास्थ्य सेवामा कुनै पनि प्रकारको गुनासो आउन नदिने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ।

मन्त्रालयमा आयोजित बैठकमा मन्त्री मेहताले सेवा प्रवाहमा देखिएका कमजोरीहरू तत्काल सुधार गर्नुपर्नेमा जोड दिँदै जिम्मेवार निकायलाई परिणाममुखी काम गर्न सचेत गराउनुभयो। उहाँले विशेषगरी अस्पताल सेवा सुधार कार्यविधि, २०८२ लाई उच्च प्राथमिकतामा राख्दै यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिनुभयो।

उक्त कार्यविधि कार्यान्वयनमार्फत देशभरका अस्पतालहरूको सेवा प्रणालीमा आमूल सुधार ल्याउने लक्ष्य रहेको बताउँदै मन्त्री मेहताले तोकिएका सबै कार्यक्रमहरू शतप्रतिशत सम्पन्न गर्न स्पष्ट मार्गनिर्देशन दिनुभयो।

उहाँले स्वास्थ्य सेवा गुणस्तरीय, छरितो र नागरिकमैत्री बनाउन सबै तहका कर्मचारीलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह गर्नुभयो। साथै, सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा विशेष जोड दिइएको छ।