युवामा उद्यमशीलता विकास गर्न राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ आयोजना हुँदै


काठमाडौँ । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ आयोजना गरिने भएको छ ।
युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गर्ने आयोजकको अपेक्षा रहेको  छ ।
युनिभर्सल कलेज र फोनेक्श कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने कन्क्लेभका संयोजक राजु टण्डनले जानकारी दिनुभयो ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा शनिबार बिहान १० बजे सुरू हुने कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रूपमा उपस्थित हुने आयोजक पक्षले जनाएको  छ ।
भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको शीर्ष प्रायोजनमा करिब पाँच हजार विद्यार्थी सहभागी हुने उक्त कार्यक्रम कलेजद्वारा आयोजित सबैभन्दा ठूलो नेतृत्व मञ्च हुने आयोजकको अपेक्षा रहेको छ । विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बन्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा गीत, संगीत, हास्यव्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, ऊर्जा र उत्प्रेरणाका विचारहरू प्रस्तुत गर्ने छन् ।
कार्यक्रमबाट सरकारलाई युवा विद्यार्थीका माग र सरोकारका विषयमा गम्भीर बन्न आग्रह गरिने कार्यक्रम संयोजक टण्डनले बताउनुभयो ।
वि.स. २०७६ सालदेखि शुरु गरिएको कार्यक्रमको यो पाँचौं संस्करण हो । प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकको भनाई छ ।