काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक कुमार साहले मन्त्री पदमा रहँदा पदको मर्यादा विपरीत काम गरेको भन्दै उनीविरुद्ध कारबाहीको सिफारिस गरेको छ।
पार्टी सभापति रवि लामिछानेले हस्ताक्षर गरेको पत्रमा श्रममन्त्री साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गर्न लामो समयदेखि निष्क्रिय रहेको व्यक्तिलाई सक्रिय बनाएको उल्लेख गरिएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययन अनुसार यो कार्य पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादाविपरीत रहेको जनाइएको छ।
पत्रमा भनिएको छ, “उपरोक्त सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक कुमार साहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गर्ने कार्य गरेको व्यहोरा पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारबाहीको लागि मिति २०८२ चैत २५ गते पत्र प्राप्त भएको जानकारी गराउँछु। यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको छ।”
रास्वपाको विधानको धारा २५ (४) (क) अनुसार पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिने जिम्मेवारी दिइएको छ। यसैगरी धारा ४९ मा “राइट टु रिकल” (जनताको अधिकार) को व्यवस्था रहेको उल्लेख गर्दै पार्टीले मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्नुपर्ने बताएको छ।
“यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखाएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु,” पत्रमा उल्लेख छ।
केन्द्रीय अनुशासन आयोगबाट प्राप्त पत्रको छाँयाप्रति पनि यसै साथ संलग्न गरिएको छ।
यो पत्रले रास्वपाभित्रै मन्त्रीमाथि अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढेको संकेत गरेको छ।
पार्टीले पदको दुरुपयोग र नातावादविरुद्ध शून्य सहनशीलता देखाउने प्रयास गरेको रूपमा यो घटनालाई हेरिएको छ।