सुदूरपश्चिममा FAO नेपालको विस्तार, प्रदेशस्तरीय सम्पर्क कार्यालय स्थापना


काठमाडौं। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) नेपालले आफ्नो कार्यक्रमगत तथा संस्थागत उपस्थितिलाई विस्तार गर्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सम्पर्क कार्यालय स्थापना गरेको छ।

यो पहललाई प्रदेशस्तरमा सहकार्य सुदृढ गर्ने तथा कृषि–खाद्य प्रणालीका प्राथमिकतालाई स्थानीय समुदायको आवश्यकतासँग जोड्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

FAO नेपालका अनुसार नयाँ सम्पर्क कार्यालयले सुदूरपश्चिम प्रदेशका प्राथमिकता क्षेत्रहरूलाई केन्द्रमा राख्दै समावेशी, उत्थानशील (resilient) र दिगो कृषि–खाद्य प्रणालीको विकासमा सहयोग पुर्‍याउनेछ।

कार्यालयमार्फत प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, किसान समुदाय र अन्य सरोकारवालाबीच समन्वय अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यसले विशेषगरी जलवायु अनुकूलन, दिगो जीविकोपार्जन र समावेशी कृषि विकास प्रवर्द्धन गर्दै किसान, स्थानीय निकाय र प्राकृतिक प्रणालीबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास लिइएको छ।

FAO नेपालले यो कार्यालयमार्फत समुदायका वास्तविक आवश्यकतालाई अझ नजिकबाट बुझेर प्रदेशको कृषि रूपान्तरणमा थप प्रभावकारी भूमिका खेल्ने जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा स्थापना गरिएको यो सम्पर्क कार्यालयले स्थानीय स्तरका चुनौती, अवसर र आवश्यकतालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै कृषि क्षेत्रमा दीर्घकालीन र दिगो हस्तक्षेपलाई गति दिने अपेक्षा गरिएको छ।