काभ्रेपलाञ्चोक, १४ चैत — शुक्रबार साँझ परेको वर्षापछि काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा आएको बाढीले एक जनाको ज्यान लिएको छ भने विपी राजमार्गका विभिन्न स्थानमा बाढीपहिरो जाँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्लाको रोशी गाउँपालिका–७ निवासी अन्दाजी ४० वर्षीय कुन्साङ तामाङको बाढीमा बगेर मृत्यु भएको प्रहरीले जनाएको छ। तामाङ डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत कर्मचारी तथा निर्माणाधीन विपी राजमार्ग क्षेत्रमा सुपरभाइजरको रूपमा काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार शुक्रबार रातिको समयमा दुई जना व्यक्ति मोटरसाइकलमा खोला तर्ने क्रममा बाढीको चपेटामा पर्न लागेका थिए। ती व्यक्तिहरूले मोटरसाइकल छाडेर नजिकै रहेको स्काभेटरमा चढेर ज्यान जोगाउने प्रयास गरेका थिए।
उनीहरूलाई उद्धार गर्न खोज्ने क्रममा तामाङ स्वयं बाढीमा फसेर बग्न पुगेका थिए। घटनापछि खोजी कार्य सञ्चालन गरिए पनि उहाँको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोही घटनामा एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी समेत बाढीले बगाएको छ। घटनाले रोशी क्षेत्रमा वर्षासँगै खोलाको बहाव कति खतरनाक बनेको छ भन्ने पुनः उजागर गरेको छ।
भकुण्डेदेखि नेपालथोकसम्म विपी राजमार्गमा पहिरो र लेदो
यता, लगातारको वर्षा र हावाहुरीका कारण विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको भकुण्डे–नेपालथोक सडकखण्ड शुक्रबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार साँझ करिब ६ बजेदेखि रोशी गाउँपालिकाभित्र पर्ने विभिन्न स्थानमा लेदोसहितको पहिरो, बाढी तथा खोलामा पानीको उच्च बहावका कारण यातायात ठप्प बनेको हो।
विशेषगरी बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटार क्षेत्रमा सडक माथिबाट लेदो बग्नुका साथै खहरेखोलामा पानीको बहाव एकाएक बढ्दा राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। कतिपय स्थानमा सडक माथि ठूलो मात्रामा माटो, ढुङ्गा र बाढीले ल्याएको लेदो थुप्रिएको प्रहरीले जनाएको छ।
रातभरि वर्षा, पहिरो पन्छ्याउन सकस
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार शुक्रबार राति अबेरसम्म हावाहुरीसहित निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छ्याउने काममा निकै कठिनाइ भएको थियो।
उहाँले शनिबार बिहानदेखि भने पानीको बहाव केही घट्न थालेपछि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयवासीको सहयोगमा सडक खुलाउने प्रयास तीव्र पारिएको जानकारी दिनुभयो।
“रातिको समयमा निरन्तर पानी परिरहेका कारण जोखिमका बीच काम गर्न गाह्रो भएको थियो। बिहानबाट मौसम केही सहज भएपछि अवरुद्ध सडक खुलाउने काम भइरहेको छ,” प्रहरी निरीक्षक धाँजुले बताउनुभयो।
प्रशासनले पहिरो हटाउने काम जारी रहे पनि पुनः वर्षा भएमा सडक पुनः अवरुद्ध हुन सक्ने भन्दै यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
गतवर्षकै क्षतिग्रस्त क्षेत्रमा फेरि संकट
स्थानीयवासी र सुरक्षाकर्मीका अनुसार रोशी क्षेत्रको यो सडक खण्ड पहिलेदेखि नै उच्च जोखिममा रहेको क्षेत्र हो। गत वर्षको बाढीपहिरोले उक्त क्षेत्रको सडक संरचना गम्भीर रूपमा क्षतिग्रस्त बनाएको थियो।
त्यसपछि खोलाको किनार र खोलाकै सतह प्रयोग गरेर अस्थायी सडक निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको थियो। तर स्थायी संरचना अझै पूर्ण रूपमा सुरक्षित नबनिसकेको अवस्थामा फेरि वर्षा र बाढीले सोही क्षेत्रलाई प्रभावित बनाएको छ।
यसले विपी राजमार्गको दीर्घकालीन स्थायित्व, मर्मत र आपतकालीन व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको स्थानीयको भनाइ छ। वर्षायाम नआउँदै चैतमै यस्तो अवस्था आउनुले आगामी मनसुनमा जोखिम अझ बढ्न सक्ने संकेत गरेको छ।
सवारीसाधन ‘होल्ड’, यात्रु अलपत्र पर्ने जोखिम
विपी राजमार्गको रोशी क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले शुक्रबार साँझदेखि नै सवारीसाधनलाई विभिन्न बिन्दुमा ‘होल्ड’ गरेको छ।
प्रहरीका अनुसार राजधानीतर्फ प्रवेश गर्ने तथा बाहिरिने दुवै दिशाका सवारीलाई नियन्त्रणमा लिइएको छ। पश्चिमतर्फबाट आउने सवारीसाधनलाई धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुण्डे क्षेत्रमा रोकिएको छ भने पूर्वतर्फबाट काठमाडौँ प्रवेश गर्ने सवारीलाई नेपालथोक र मङ्गलटार क्षेत्रमा होल्ड गरिएको छ।
यसले रातारात यात्रु, मालवाहक गाडी, सार्वजनिक यातायात तथा निजी सवारी सबै प्रभावित भएका छन्। कतिपय यात्रुहरू वैकल्पिक मार्गको खोजीमा रहेका छन् भने केही सवारी चालक सुरक्षित स्थानमा रोकिन बाध्य भएका छन्।
प्रशासनको आग्रह : जोखिमपूर्ण यात्रा नगर्नुहोस्
स्थानीय प्रशासन, ट्राफिक प्रहरी तथा सुरक्षा निकायले मौसम प्रतिकूल रहेकाले अत्यावश्यक कामबाहेक विपी राजमार्ग भएर यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
विशेषगरी खोला किनार, खहरे, पहिरोप्रवण ढलान र अस्थायी सडक भएका स्थानमा उच्च सतर्कता अपनाउन भनिएको छ। रातिको समयमा यात्रा नगर्न, नदी तथा खोलाको बहाव अनुमान गरेर पार गर्ने प्रयास नगर्न र प्रशासनले दिएको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
रोशी क्षेत्रमा शुक्रबारको वर्षाले निम्त्याएको यो घटनाले मानवीय क्षति, भौतिक नोक्सानी र यातायात अवरोध तीनै तहमा गम्भीर असर पारेको छ। एकातिर एक कर्मचारीले ज्यान गुमाउनुपरेको छ भने अर्कोतर्फ राजधानीलाई पूर्वी नेपालसँग जोड्ने महत्त्वपूर्ण राजमार्ग फेरि एकपटक प्राकृतिक विपत्तिको मारमा परेको छ।