काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको टोलीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग काठमाडौंमा भेटवार्ता गर्दै प्रवासी नेपालीसँग सहकार्य र लगानी प्रवर्द्धनका विषयमा छलफल गरेको छ।
भेटमा अध्यक्ष डा. शर्माले महासंघको स्वागतप्रति धन्यवाद व्यक्त गर्दै एनआरएनएको स्थापना कालमा एफएनसीसीआईले खेलेको भूमिकाको स्मरण गरे। उनले विगतका मतभेद अन्त्य भई अहिले एनआरएनए एकीकृत भएको र प्रवासी नेपालीहरू देश विकासका लागि सहकार्य गर्न तयार रहेको बताए।
प्रवासी नेपालीको ठूलो सम्भावनालाई औंल्याउँदै उनले नेपालमा लगानी बढाउन संस्थागत सहकार्य आवश्यक रहेको बताए। साथै, युवाहरू शिक्षा र रोजगारीका लागि विदेशिने बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै देशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।
वरिष्ठ उपाध्यक्ष रोबिन प्रसाद शेरचन ले एनआरएनएको लगानी तथा विकाससम्बन्धी दृष्टिकोण प्रस्तुत गर्दै जापानको नमूनामा ‘एनआरएन अस्पताल’ र ‘रिटायर्मेन्ट केयर सेन्टर’ जस्ता परियोजना अघि बढाउने योजना सुनाए। उनले यी योजनालाई कार्यान्वयन गर्न एफएनसीसीआईसँग सहकार्य अपरिहार्य रहेको बताए।
उपाध्यक्षहरू रोजिन प्रधान राई र गोपी काफ्ले ले प्रवासी लगानीकर्ताले भोगिरहेका समस्या समाधानका लागि सरकारसँग समन्वय गर्न महासंघको सहयोग आवश्यक रहेको धारणा राखे।
त्यस्तै, सचिव दिनेश खत्री ले काठमाडौंमा सार्वजनिक यातायातसम्बन्धी प्रस्तावित परियोजनाबारे जानकारी दिँदै यसको दीर्घकालीन फाइदाबारे चर्चा गरे।
महासचिव डा. चिरञ्जीवी खड्का ले आगामी एनआरएनए कार्यक्रमहरूमा एफएनसीसीआईलाई सहभागी हुन आमन्त्रण गरे भने उपाध्यक्ष रोशन थापा ले प्रवासी स्रोत, सीप र पूँजीलाई जोडेर दीर्घकालीन लगानी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
एफएनसीसीआईका तर्फबाट अध्यक्ष चन्द्र ढकाल ले एनआरएनए नेतृत्वलाई १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै संस्थाबीचको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले एनआरएनएद्वारा प्रस्तावित लगानी परियोजनाहरूलाई महासंघले आवश्यक सहजीकरण गर्ने बताए।
भेटमा एनआरएनएका आईसीसी सदस्य, विभिन्न देशका प्रतिनिधि तथा महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकले प्रवासी नेपालीको लगानी, सीप र अनुभवलाई नेपालमा उपयोग गर्दै आर्थिक विकासलाई गति दिने साझा प्रतिबद्धता दोहोर्याएको छ।