काठमाडौं। मध्यपूर्वमा जारी युद्धका कारण केही देशका लागि रोकिएको श्रम स्वीकृति अझै खुला नगरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले युद्धको अवस्था सामान्य नभएसम्म श्रम स्वीकृति पुनः सञ्चालनमा नल्याइने जनाएको छ।
मन्त्रालयका अनुसार इरान, इजरायल, कुवेत, बहराइन, इराक र लेबनानका लागि श्रम स्वीकृति अझै खुला गरिएको छैन।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव पिताम्बर घिमिरेका अनुसार वर्तमान अवस्थामा श्रम स्वीकृति खुलाउनेबारे कुनै निश्चित निर्णय गर्न सकिने अवस्था नरहेको बताए। “अहिले नै कहिले खोल्ने भन्ने स्थिति छैन, युद्ध शान्त भएपछि मात्रै निर्णय हुन्छ,” उनले भने।
मध्यपूर्वमा जारी द्वन्द्व चौथो हप्तामा प्रवेश गरिसकेको छ। खाडी तथा आसपासका प्रभावित क्षेत्रमा करिब १८ लाख नेपाली कार्यरत रहेको अनुमान छ। हालसम्म युद्धका कारण एक नेपालीले ज्यान गुमाएका छन् भने केही घाइते भएका छन्।
यद्यपि, हालसम्म रेमिट्यान्समा कुनै उल्लेखनीय असर नपरेको मन्त्रालयको दाबी छ।
मन्त्रालयले आफ्नो तर्फबाट आवश्यक समन्वय र तयारीलाई तीव्र बनाएको जनाएको छ। समस्यामा परेका नेपालीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयको नेतृत्वमा संयन्त्र गठन गरी सक्रिय रूपमा काम भइरहेको छ। सम्बन्धित देशस्थित नेपाली दूतावासहरूसँग निरन्तर समन्वय गर्दै प्रभावित नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ता प्रक्रिया अघि बढाइएको छ।
स्वदेश फर्कन चाहने नेपालीहरूका लागि दूतावासमार्फत अनलाइन फाराम भर्न आह्वान गरिएको छ। हवाई उडान अवरुद्ध भएका अवस्थामा केही नेपालीलाई छिमेकी देशहरूसँगको सहकार्यमा स्थलमार्ग हुँदै समेत नेपाल फर्काइएको मन्त्रालयले जनाएको छ।
सरकारले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र युद्ध शान्त भएपछि मात्रै श्रम स्वीकृति पुनः खुलाउने निर्णय गरिने स्पष्ट पारेको छ। हालका लागि भने विदेश रोजगारीमा जान चाहने नेपालीहरू अन्योलमा परेका छन्।