गैरआवासीय नेपाली संघ (NRAA) अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक तथा रणनीतिक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
डा. हेम राज शर्माको अध्य्यक्षतामा बसेको मिति १८ देखि २० मार्च २०२६ सम्म भौतिक उपस्थिति तथा जुम माध्यमबाट सञ्चालन गरिएको उक्त बैठकमा नवनिर्वाचित कार्यसमितिले आफ्नो कार्यकालका आगामी योजनाहरू तथा संस्थागत विषयहरूमा विस्तृत छलफल गरी निम्नानुसार महत्वपूर्ण निर्णयहरू गरेको छ :
नेपालमा आर्थिक लगानी:
नेपाल सरकार तथा गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा स्थापना भएको १० अर्ब पूँजीको एनआरएन नेपाल डेभलपमेन्ट फण्डको तत्काल संचालनका लागि आवश्यक नियमिक व्यवस्था गर्न नेपाल सरकारलाई अनुरोध गर्ने तथा उक्त फण्डमार्फत गैरआवासीय नेपालीहरुको पूँजी परिचालन गर्न यस संघ (NRNA) अन्तर्गतका ६ वटा अमेरिकाज, एसिया, ओसेनिया, मध्यपूर्व/मलेसिया, अफ्रिका र युरोप क्रमिक रूपमा रोड शो कार्यक्रम आयोजना गरी लगानीकर्ता आकर्षित गर्ने ।
गैरआवासीय नेपालीका हकहित
आगामी संसद अधिवेशनबाट ‘गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ पारित गरि, हाल नेपाल सरकारले जारी गरेको गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न तथा उनीहरूको सम्पत्तिको सुरक्षा सुनिश्चित गराउन नेपाल सरकारसँग सरकारको ध्यानाकर्षण गराउने, साथै थाइल्याण्ड, म्यानमार, फिजी, मलेसिया लगायतका देशहरूमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरू (People of Nepali Origin) लाई नेपालसँग भावनात्मक तथा वैधानिक रूपमा आबद्ध गर्ने प्रबन्ध मिलाउन तथा सो सम्बन्धी विधेयक आगामी संसद अधिवेशनबाट पारित गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउने।
संविधान संशोधन गरी वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्न नयाँ बन्ने सरकारलाई अनुरोध गर्ने साथै संविधानको धारा २९१ परिवर्तनका लागि पनि आवश्यक पहल गर्ने ।
नेपालको आम निर्वाचनमा विदेशबाट मतदान सुनिश्चित गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र त्यसका लागि आवश्यक व्यवस्थापन गर्न एक कार्यदल गठन गर्ने।
भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूको समस्या समाधानका लागि, बेलायत सरकारसँग मन्त्रिस्तरीय वार्ताका लागि कुटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने।
गैरआवासीय नेपालीहरूलाई नेपालका अड्डा–अदालत तथा प्रशासनिक निकायहरूसँग सम्बन्धित कानुनी, प्रक्रियागत तथा व्यवहारिक समस्यामा सहयोग गर्न सचिवालयमा ‘एनआरएनए कानुनी तथा प्रशासनिक परामर्श केन्द्र’ स्थापना गर्ने।
संसारभर रहेका नेपालीहरूको समस्या, अवस्था र सम्भावनाको अध्ययन गरी श्वेतपत्र (White Paper) तयार गर्ने।
वैदेशिक रोजगार
मध्य पूर्वमा युद्धका कारण समस्यामा परेका नेपालीहरूको तत्काल उद्धारका लागि Top of Formआवश्यक कदम चाल्न त्यहाँस्थित कूटनीतिक नियुक्ति तथा राजदूतवाससँग समन्वय गर्ने ।र त्यस सम्बन्धमा राष्ट्रिय समन्वय परिषद् आवश्यक सहकार्य गर्ने।
वैदेशिक रोजगारीमा रहेका तथा फर्केका नेपालीहरूको सुरक्षा, राहत, उद्धार, स्वास्थ्य उपचार, कानुनी सहयोग तथा पुनर्स्थापना सुनिश्चित गर्न वैदेशिक रोजगारी कल्याणकारी कोष (NRNA Foreign Employment Relief Fund) लाई यस कार्यकाल (NRNA ICC कार्यकाल २०२५-२०२७) भित्र रु. १० करोड पुर्याउने लक्ष्य निर्धारण गरियो। साथै सदस्य शुल्कको बापत प्रति सदस्य १ अमेरिकी डलर अनिवार्य जम्मा गर्ने । बाँकी रकम जुटाउन दाताहरू तथा सदस्यहरूसँग समन्वय गरी रणनीति कार्यान्वयन गर्ने । नोट: यसै बैठकबाट NRNA पदाधिकारीहरू, सदस्यहरू तथा उपस्थित प्रतिनिधिहरूबाट स्वेच्छिक योगदान मार्फत रु. १ करोड संकलन गरिएको छ ।
देशमा आकस्मिक मृत्यु, दुर्घटना वा अन्य विपदमा परेका श्रमिकका परिवारलाई कानुनी सहयोग उपलब्ध गराउन तथा श्रमिकको समस्याको सम्बोधनका लागि काठमाडौँ सचिवालयमा छुट्टै कर्मचारीको व्यवस्था गर्ने।
गन्तव्य मुलुकका कानुनी व्यवस्था, सुरक्षा, स्वास्थ्य, अधिकार, कर्तव्य तथा रोजगारसम्बन्धी जानकारी प्रदान गर्न प्रत्येक महिना संघको सचिवालयबाट अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। साथै, विदेशमा रहेका नेपालीहरूको क्षमता र दक्षताको अभिलेख तयार गरी उनीहरू स्वदेश फर्केपछि रोजगार सुनिश्चित गर्न सम्बन्धित सरोकारवाला संस्थासँग सहकार्य गरिनेछ।
वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको लागि मानसिक स्वास्थ्यसम्बन्धी परामर्श कार्यक्रम नियमित रूपमा सञ्चालन गरिनेछ।
दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा महिला सशक्तिकरण
विश्वभर रहेका महिलाहरुलाई एकै फोरममा ल्याउन यसै कार्यकालमा गैरआवासीय नेपाली विश्व महिला सम्मेलन गरिनेछ।
दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको सहभागिता र नेपालसँगको सामीप्यता बढाउन १२ औँ महाधिवेशनले एक अन्तराष्ट्रिय संयोजक तोकिसकिएको छ l प्रत्येक राष्ट्रिय समन्वय परिषदलाई दोस्रो पुस्ताको संयोजक नियुक्त गर्न निर्देशन दिने ।
दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई नेपालका विश्वविद्यालय, शैक्षिक तथा व्यवसायिक संस्थाहरूमा ‘इन्टर्नशिप (Internship) र शैक्षिक भ्रमण गर्ने अवसर उपलब्ध गराउने, ‘Youth Volunteer for Nepal (YV4N)’ परियोजना अन्तर्गत उनीहरूलाई नेपालको विभिन्न क्षेत्रमा स्वेच्छिक सेवामा संलग्न हुने अवसर प्रदान गरिनेछ। साथै काठमाडौंमा दोस्रो पुस्ताका गैरआवासीय नेपाली सम्मेलनको आयोजना गर्ने ।
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गरी परामर्श केन्द्र स्थापना गर्ने र हरेक महिना उक्त परामर्श केन्द्रमार्फत “Pre-departure orientation” गर्ने । साथै विद्यार्थीहरूलाई एनओसी (NOC) प्रदान गर्दा अनिवार्य रूपमा स्वास्थ्य बीमाको व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने ।
संचारकर्मी, सम्मेलन प्रायोजक, सहयोगी शुभचिन्तक लगायत सम्पूर्णलाई निरन्तर साथ, सहयोग र महत्वपूर्ण योगदान पुर्याउनुभएका सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गरिन्छ।
साथै, आगामी दिनमा हाम्रो महत्वपूर्ण गतिविधिलाई प्राथमिकता दिन र अझ सशक्त रूपमा अगाडि बढाउन सम्पूर्ण सदस्यहरूको निरन्तर सहयोग अपेक्षा गरिन्छ।