नेपाल व्यापार संघको महाधिवेशन सम्पन्न, पत्रकार सम्मानित


काठमाडौं।  नेपाल व्यापार संघको ३३ औँ वार्षिक साधारण सभा तथा १७औँ महाधिवेशन सम्पन्न भएको छ। राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा आयोजित उक्त महाधिवेशनमा देशभरका व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

महाधिवेशनको अध्यक्षता संघका अध्यक्ष हरि गौतम ले गर्नुभएको थियो। कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल तथा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठ ले शुभकामना मन्तव्य व्यक्त गर्दै निजी क्षेत्रको सशक्त भूमिका, लगानीमैत्री वातावरण र व्यवसायिक एकताको आवश्यकता औंल्याउनुभयो।

महाधिवेशनको अवसरमा आर्थिक पत्रकारितामा योगदान पुर्‍याउने पत्रकारहरूलाई विशेष सम्मान गरिएको छ। सम्मानित हुने पत्रकारहरूमा लक्ष्मी सापकोटा (गोरखापत्र), विरेन्द्र जैरु (न्युज २४), प्रेम प्रसाद पौडेल (इकोनोमिकखबर), राजकुमार सिलवाल (कलिकाखबर), स्वतिका थापा (नयासवाल) तथा तारा तुम्सिङ्ग मगर (हिमालयन टेलिभिजन) लगायत रहनुभएको छ।

संघले मिडियाको भूमिकालाई प्रशंसा गर्दै व्यवसायिक क्षेत्रको विकास, बजार पारदर्शिता र नीतिगत सुधारका लागि सञ्चारमाध्यमसँग सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

महाधिवेशनले आगामी कार्ययोजना, व्यवसायिक हितका मुद्दा र नीतिगत सुधारका विषयमा व्यापक छलफल गर्दै नयाँ नेतृत्व चयन तथा संगठनलाई थप सुदृढ बनाउने लक्ष्य अघि सारेको छ।