काठमाडौं। गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एक अर्ब रुपैयाँ बराबरको पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत यस योजना गरिमा विकास बैंक कोष प्रवद्र्धक रहने गरी निष्काशन हुन लागेको नेपालकै पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना भएको बताइएको छ।
प्रारम्भिक चरणमा पचास करोड बराबरको प्रति इकाई दस रुपैयाँ दरले पाँच करोड इकाई बिक्रीका लागि सार्वजनिक निष्काशन गरिनेछ। योजनामा लगानीकर्ताले न्यूनतम सय इकाईदेखि अधिकतम पचास लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।
यसअघि सोही कोष प्रवद्र्धक र योजना व्यवस्थापकमार्फत सार्वजनिक निष्काशन गरिएको एक अर्ब २५ करोड रुपैयाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना “गरिमा समृद्धि योजना” हाल सञ्चालनमा रहेको छ।
गरिमा समूहले नयाँ खुलामुखी योजना मार्फत् लगानीकर्तालाई थप लगानी अवसर उपलब्ध गराउने तथा पूँजी बजारको विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।