प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रूतमार्ग आधुनिक विकासको नमुना सावित हुने बताउनुभएको छ ।
नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उद्घोष गर्नुभयो ।
मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौं–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ आज ‘ब्रेक थ्रु’ भएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विगतमा जुन रफ्तारमा विकास हुनुपथ्र्यो, त्यो हुन सकेन । अब विकासको नमुनाका रुपमा यो द्रूतमार्ग बन्नेछ । यस मार्ग अघि बढाउने सन्दर्भमा देखिएका राजनीतिक र आर्थिक बाधा ब्यवधानलाई समाधान गर्न सरकार तत्पर छ ।’
उहाँले नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिए पनि दू्रतमार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूूरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।
डिजिटल नेपाल फ्रेमवर्क बमोजिम अप्टिकल फाइबर, फोरजी इन्टरनेट लगायतका सेवा सबै जिल्लामा पुर्याउने काम अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले द्रूतमार्ग लगायतका पूर्वाधार विकासले यस्ता कार्यक्रमलाई सहयोग मिल्ने बताउनुभयो ।
द्रूतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएकाले समयमा सम्पन्न गर्न प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायकालाई निर्देशन दिनुभयो ।