“सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरण: साइबर सुरक्षा नेतृत्व निर्माण” कार्यक्रम भव्यताका साथ सम्पन्न


काठमाडौँ। डिजिटल परिदृश्यको विकाससँगै साइबर सुरक्षाको क्षेत्रमा महिलाहरूको नेतृत्वदायी भूमिका अपरिहार्य बन्दै गएको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै क्यान महासंघ (CAN Federation) को सफ्टवेयर तथा सेवा समितिले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (CSRI Nepal) र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCERT) सँगको सहकार्यमा “Empowering Women for a Secure Digital Future: Building Cybersecurity Leaders” शीर्षकको विशेष कार्यक्रम आज सिफलस्थित टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी अधिकारीले उक्त कार्यक्रममा डिजिटल सुरक्षा मात्र नभई महिलाहरूको समग्र सुरक्षाका विषयमा गहन छलफल भएको थियो । सम्बोधनका क्रममा अधिकारीले सुर्खेतको पछिल्लो घटनालाई स्मरण गर्दै महिलाहरूका लागि डिजिटल सुरक्षाका साथै आत्मरक्षा (Self-defense) को तालिम पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले साइबर सुरक्षामा महिला नेतृत्वलाई अगाडि ल्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा टेक्सस कलेजका आईटी निर्देशक डा. सुमन थपलियाले स्वागत मन्तव्य राख्नुभएको थियो भने क्यान महासंघकी अध्यक्ष सुनायना घिमिरे पाण्डे र महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधि क्षेत्रमा महिला सहभागिताको रणनीतिक महत्त्वबारे आफ्ना भनाइहरू राख्नुभएको थियो । सफ्टवेयर तथा सेवा समितिकी सभापति शीला कार्की काँसकारले सूचना प्रविधि विकासका लागि महिलाको सक्रियता अपरिहार्य रहेको बताउँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

प्राविधिक सत्रका मुख्य आकर्षणहरू:

मुख्य सम्बोधन: नेपाल दूरसञ्चार प्राधिकरणकी उप–निर्देशक रोजा किरण बासुकलाले “साइबर सुरक्षाको अग्रपंक्तिमा महिला: सुरक्षित डिजिटल भविष्यको निर्माण” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

क्यानभास र करियर: इनसाइट टेक्नोलोजीका कार्यकारी निर्देशक सुमन के. शर्माले साइबर सुरक्षामा करियरका मार्गहरू र अवरोधहरू हटाउने उपायबारे चर्चा गर्नुभयो ।

उदीयमान खतराहरू: मोनल टेककी संस्थापक मोना न्याछ्योले बदलिँदो साइबर खतरा र विविध नेतृत्वको आवश्यकतामाथि प्रकाश पार्नुभयो ।

कार्यक्रमको अन्त्यमा एक विशेष प्यानल छलफल आयोजना गरिएको थियो, जसमा नेपाल बैंक लिमिटेडकी कार्ड एण्ड डिजिटल बैंकिङ डिभिजन प्रमुख वन्दना शर्मा, रोजा किरण बासुकला, सुमन के. शर्मा र मोना न्याछ्यो सहभागी हुनुहुन्थ्यो । उक्त छलफलमा बैंकिङ सुरक्षा, नियामक चुनौती र साइबर सुरक्षामा महिलाका सबल पक्षहरूबारे अन्तरक्रिया गरिएको थियो ।

नेपालमा साइबर सुरक्षाको जनशक्ति विकास र लैङ्गिक समानता कायम गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।