विश्व उपभोक्ता अधिकार दिवस–२०८२ मनाइयो: सुरक्षित उत्पादन र जिम्मेवार प्रशासनमा जोड


उपभोक्तालाई सचेत बनाउने, बजार अनुगमन सुदृढ गर्ने र गुणस्तरीय वस्तु–सेवा सुनिश्चित गर्न सरकार, व्यवसायी र उपभोक्ता सबैको साझा जिम्मेवारी

काठमाडौं। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नारासहित नेपालमा पनि विश्व उपभोक्ता अधिकार दिवस–२०८२ विविध कार्यक्रमका साथ मनाइएको छ। दिवसको अवसरमा काठमाडौंमा मूल समारोह कार्यक्रम आयोजना गर्दै उपभोक्ता अधिकार संरक्षण, बजार अनुगमन तथा गुणस्तरीय वस्तु तथा सेवा सुनिश्चित गर्ने विषयमा छलफल गरिएको हो।

उक्त कार्यक्रम उधाेग, बाणिज्य तथा आपूर्ति विभागको आयोजनामा चैत १ गते, कार्कि ब्याँकेट काठमाडौंमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि उधाेग, बाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हा, उधाेग, बाणिज्य तथा आपूर्ति सचिव मधुसूदन बुर्लाकाेटि, उधाेग, बाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक राेशन ज्ञवाली  सरकारी अधिकारी, उपभोक्ता अधिकारकर्मी, व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उपभोक्ता सचेतना आवश्यक

कार्यक्रमका वक्ताहरूले बजारमा गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने जिम्मेवारी व्यवसायीको मात्र नभई उपभोक्ता स्वयं पनि सचेत हुनुपर्ने बताएका छन्। उनीहरूले बजारमा हुने कालोबजारी, मिसावट र अनुचित व्यापारिक गतिविधि रोक्न प्रभावकारी अनुगमन आवश्यक रहेकोमा जोड दिएका थिए।

“उपभोक्ता अधिकार संरक्षणका लागि सरकारी निगरानीसँगै उपभोक्ताको सचेतना पनि उत्तिकै आवश्यक हुन्छ,” कार्यक्रममा सहभागी अधिकारकर्मिले बताए।

बजार अनुगमनलाई प्रभावकारी बनाउने तयारी

सरकारी निकायले पछिल्ला वर्षहरूमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउन विभिन्न अभियान सञ्चालन गर्दै आएको जनाएको छ। गुणस्तरहीन वस्तु बिक्री, कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यधिक मूल्य असुल्ने व्यवसायीमाथि कारबाहीलाई कडाइ गर्ने तयारी रहेको अधिकारीहरूले बताएका छन्।

नेपालमा उपभोक्ता संरक्षणका लागि मन्त्रालय, विभाग अन्तर्गत विभिन्न निकायले बजार अनुगमन तथा नियमनको काम गर्दै आएका छन्।

बजार अनुगमन बढ्दै

वाणिज्य तथा आपूर्ति क्षेत्रका अधिकारीहरूका अनुसार पछिल्ला वर्षहरूमा बजार अनुगमनको दायरा विस्तार गरिएको छ।

  • वार्षिक रूपमा हजारौँ पसल तथा उद्योगमा तिनै तहका सरकारबाट अनुगमन हुने गरेको

  • नियम उल्लंघन गर्ने उधाेग व्यवसायीलाई जरिवाना तथा कारबाही हुने गरेको

  • उपभोक्ता गुनासो समाधानका लागि हेल्पलाइन र उजुरी प्रणाली सञ्चालनमा रहेको

विश्वव्यापीरूपमा मनाइने दिवस

हरेक वर्ष मार्च १५ मा विश्वभर World Consumer Rights Day मनाइन्छ। उपभोक्ताको अधिकार संरक्षण, सुरक्षित वस्तु–सेवामा पहुँच तथा बजारमा पारदर्शिता कायम गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

नेपालमा पनि पछिल्ला वर्षहरूमा उपभोक्ता अधिकारसम्बन्धी कानुन कार्यान्वयन, बजार अनुगमन र जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। विशेषज्ञहरूका अनुसार उपभोक्ता अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सरकार, निजी क्षेत्र र उपभोक्ताबीचको सहकार्य अझ सुदृढ हुन आवश्यक छ।