ग्राण्डीको अध्यक्षमा ईन्जिनीयर कुँवर चौँथो कार्यकालका लागि निर्वाचित 


काठमाडौँ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर चौँथो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
ग्राण्डीको बिहिबार सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट इन्जिनीयर कुँवर चार वर्षका लागि निर्वाचित हुनुभएको हो । उहाँले स्थापनाकालदेखि नै ग्राण्डीको अध्यक्ष भई कुशल नेतृत्व गरिरहनुभएको छ ।
चौँथो कार्यकालका लागि निर्वाचित भएपश्चात अध्यक्ष कुँवरले अस्पताललाई विश्वस्तरिय उपचारको गन्तव्यका रुपमा स्थापित गर्ने, अस्पतालको आर्थिक भार कम गरी शेयर सदस्यको लगानी र मुनाफा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
स्थापनाकालदेखि विभिन्न अवरोधका बाबजुद पनि इन्जिनीयर कुँवरको कुशल नेतृत्वमा सञ्चालित ग्राण्डीले यसै आर्थिक वर्षभित्र संस्थागत ऋणमुक्त हुने र शेयर सदस्यलाई मुनाफा वितरण गर्ने बाटोमा अगाडि बढेको छ।
निजी क्षेत्रबाट सञ्चालित अन्य अस्पतालहरुको अवस्था राम्रो नभइरहेको बेला व्यवस्थापनमा अब्बल क्षमता राख्ने इन्जिनीयर कुँवरले नेतृत्व गरेको अन्य संस्थाजस्तै ग्राण्डीलाई पनि एक नम्बरको अस्पतालका रुपमा विकास गर्नुभएको हो ।
साधारणसभाबाट अस्पताल सञ्चालक समितिको सदस्यमा इन्जिनीयर विजय राजभण्डारी, डा सुनिलराम बैद्य, सुरुची ज्योति, फुर्पा दोर्जे लामा र निता शाही निर्वाचित हुनुभएको निर्वाचन अधिकृत डा अवतार न्यौपानेले जानकारी दिनुभयो ।
नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विस २०६९ मा टोखा नगरपालिका वडा न ८ धापासीमा स्थापना भएको ग्राण्डीले २०० शैयामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
२८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा झण्डै एक हजार डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन् ।