कटुवाल बन्धु सेवा समाजले ‘कटुवाल सदन’ निर्माणको औपचारिक शिलान्यास सम्पन्न


काठमाडौं। कागेश्वरी मनहरा नगरपालिका–७, काडाघारी पानीट्याङ्कीमा माण्डव्य गोत्रीय कटुवाल बन्धुहरूको गौरवशाली संस्था कटुवाल बन्धु सेवा समाजले आफ्नै भवन “कटुवाल सदन” निर्माणको औपचारिक शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ। यस ऐतिहासिक घटनाले कटुवाल समाजभित्र नयाँ उर्जा र उत्साह थपिएको छ।

शिलान्यास समारोहमा समाजका वर्तमान अध्यक्ष, संरक्षक तथा पूर्व अध्यक्षहरू मिलेर संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा संरक्षक तथा पूर्व प्रधान सेनापति रुकमाङ्गत कटुवाल, वर्तमान अध्यक्ष तथा पूर्व प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, पूर्व अध्यक्ष देबराज कटुवालशिव कुमार कटुवाललगायत समाजका विशिष्ट अतिथिहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप समृद्ध बनाएको थियो।

समाजका महासचिव मदन राज कटुवालले समन्वय तथा व्यवस्थापनमा देखाएको सक्रिय भूमिकाको सहभागीहरूले उच्च प्रशंसा गरेका छन्। भवन निर्माण अगाडी बढाउन आवश्यक परामर्श, योजनाको रूपरेखा तथा समाजभित्र समन्वय कायम गर्ने कार्यमा उहाँको योगदानलाई विशेषरूपमा स्मरण गरिएको थियो।

बरिष्ठ उपाध्यक्ष नरेस कटुवालले जग्गा खरिद प्रक्रियामा निभाएको महत्वपूर्ण भूमिकाका लागि पनि कार्यक्रममा धन्यवाद व्यक्त गरिएको थियो। कार्यक्रममा सचिव कर्णराज कटुवालले आगामी एउटा वर्षभित्र “कटुवाल सदन” निर्माण सम्पन्न गर्ने लक्ष्यसहित देश तथा विदेशमा रहेका सम्पूर्ण कटुवाल बन्धुहरूको आर्थिक तथा नैतिक सहयोग अपेक्षित रहेको जानकारी दिए।

सभापति कृष्ण बहादुर कटुवालले नयाँ भवन समाजको एकता, पहिचान र गौरवको प्रतीक बन्ने विश्वास व्यक्त गर्दै सबै बन्धुहरूलाई दृढ हातेमालोका साथ सहयोग गर्न आग्रह गर्नुभयो। कार्यक्रमको अन्त्यमा सचिव कर्णराज कटुवालले निर्माण कार्यलाई सफल बनाउन अहोरात्र खटिने सबै बन्धुहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।