काठमाडौँ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ, जस अन्तर्गत नेपाली किसानलाई डिजिटल प्लेटफर्म मार्फत कृषि सल्लाह उपलब्ध गराइने भएको छ।
सम्झौतामा कनेक्ट किसानका निर्देशक राजन दाहाल र एनएएएमपीका कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठ ले हस्ताक्षर गरेका छन्।
सम्झौताका अनुसार कनेक्ट किसानले विकास गरेको भ्वाइस र टेक्स्ट-आधारित एआई एग्रिकल्चरल एडभाइजरी प्रणाली मार्फत किसानले खेतमा काम गर्दा आउने समस्याहरु जस्तै:- मलको उपयोग, बजार जानकारी, रोग र कीरा व्यवस्थापन जस्ता विषयमा तात्कालिक सुझाव र समाधान प्राप्त गर्न सक्नेछन्।
राजन दाहालले भारतमा डिजिटल टेक्नोलोजी प्रयोग गरी किसानले उत्पादन वृद्धि गरिरहेका उदाहरणलाई उद्धृत गर्दै नेपालमा पनि एआई प्रविधिले किसानलाई ठूलो फाइदा दिने बताए। किसानहरूले नीति-सम्बन्धी समस्या, बजार चुनौती वा रोग–कीरा सम्बन्धी जानकारी एआई प्रणालीमा पठाउन सक्नेछन् र त्यसलाई एनएएएमपीले आवश्यक कदम चाल्न प्रयोग गर्नेछ।
एनएएएमपीका कार्यक्रम निर्देशक श्रेष्ठले भनेका छन् कि यो सहकार्यले किसानलाई डिजिटल प्लेटफर्मसम्म पुर्याइ समस्या समाधानमा सहयोग पुर्याउनेछ र जटिल समस्या समाधानका लागि प्रविधिक तथा अनुसन्धान टोली पनि सहयोगमा लाग्नेछ।
उनले भने, “किसानले आफ्नो खेतबारीमा जुनसुकै समस्या आए पनि तत्काल समाधान पाउन सक्नेछन्। साथै, ठूला वा जटिल समस्याहरूको लागि प्रविधिक र अनुसन्धान टोलीले पनि सहयोग गर्नेछ।”
यस समझौताको माध्यमबाट किसानको समस्या दिर्घकालीन रूपमा समाधान गर्ने उद्देश्य राखिएको छ। कृषि नीतिगत चुनौती जस्तै बजारमा पहुँच नपाउनु, मल अभाव, रोग व्यवस्थापन जस्ता समस्या पनि एआई प्रणालीमा डेटा बनाइने र भविष्यमा त्यसको आधारमा समाधानको योजना तयार पारिने निर्देशन श्रेष्ठले बताए ।
कनेक्ट किसानको एआई प्रविधि भनेको कृषकको आवश्यकता अनुसार कृषि सल्लाह, रोग र कीरा व्यवस्थापन, मल र बीउ उपलब्ध सहि सुझाव, उचित बजार जानकारी लगायतका सेवाहरू उपलब्ध गराउने डिजिटल प्लेटफर्म हो। यो प्रणालीले किसानलाई आफ्नो खेतमा प्रत्यक्ष निर्णय लिन सजिलो बनाउनेछ र कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यस मार्फत किसानहरूले आफ्नो खेतीसम्बन्धी दैनिक समस्यामा छिटो र सटीक सल्लाह प्राप्त गर्नेछन् र दीर्घकालीन समाधानतर्फ पनि काम अघि बढ्नेछ।