वीरगञ्ज। जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक कुमार टेमानीले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्।
उनले वीरगञ्ज महानगरपालिका तथा पर्सागढी नगरपालिकाका विभिन्न वडाहरूमा घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिएका छन्।
हालै वीरगञ्ज महानगरपालिका वडा नं. २८ बगही टोल, वडा नं. २४ रामगढवा तथा पर्सागढी नगरपालिका–६ र ७ मा आयोजित कार्यक्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका छन्।
खानेपानी, शिक्षा र स्वास्थ्य मुख्य चासो
घरदैलोका क्रममा स्थानीयवासीले खानेपानीको अभाव, धारा तथा पाइपलाइन व्यवस्थापन कमजोर रहेको र गर्मी याममा पानीको समस्या गम्भीर हुने विषय उठाएका थिए।
शिक्षा क्षेत्रमा शिक्षक अभाव, विद्यालयको भौतिक पूर्वाधार कमजोर तथा शैक्षिक सामग्रीको कमीका कारण पठनपाठन प्रभावित भएको गुनासो गरिएको छ।
त्यस्तै, स्वास्थ्य सेवामा औषधि, उपकरण तथा दक्ष जनशक्तिको अभाव रहेको र सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।
कृषि आधुनिकीकरण र रोजगारीमा जोड
कृषकहरूले मल, उन्नत बीउ, सिँचाइ सुविधा र उत्पादनको उचित मूल्य नपाउनु मुख्य समस्या रहेको उल्लेख गरेका छन्। यस सन्दर्भमा उम्मेदवार टेमानीले कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन वृद्धि र बजार व्यवस्थापनमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
युवाहरूले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुपर्ने माग राखेका छन्। टेमानीले सीपमूलक तालिम, स्वरोजगार प्रवर्द्धन र उद्यमशीलता विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताएका छन्।
उद्योग तथा संस्थागत अनुभव
वीरगञ्ज निवासी टेमानी उद्योग, व्यापार तथा संस्थागत नेतृत्वमा लामो अनुभव भएका व्यक्तिका रूपमा परिचित छन्। विभिन्न औद्योगिक तथा सामाजिक संस्थामा संलग्न रहँदै आएका उनले आर्थिक विकास, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।
पार्टी प्रवेश र जनसहभागिता
बगही टोलमा आयोजित कार्यक्रममा विभिन्न दल त्यागी करिब १२५ जना स्थानीयवासी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। घरदैलो कार्यक्रममा वृद्धदेखि युवासम्मको उल्लेख्य सहभागिता देखिएको छ।
पर्सा–२ मा चुनावी गतिविधि बढ्दै जाँदा उम्मेदवारहरूबीच घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई केन्द्रमा राखेर मतदाता भेटघाट जारी रहेको छ।