महाशिवरात्रि आज: पशुपतिनाथसहित देशभरका शिवालयमा श्रद्धालुको घुइँचो


महादेव भगवान् शिवको पूजाआजा र आराधना गर्ने दिन महाशिवरात्रि आइतबार मनाइँदैछ। फागुन कृष्ण त्रयोदशीमा मनाइने महाशिवरात्रि मूलतः राजधानीस्थित श्री पशुपतिनाथ र मुलुकभरका शिव मन्दिरहरूमा मनाइन्छ।

फागुन कृष्ण चतुर्दशी अर्थात् शिवरात्रि महान् साधनाको रात हो। मुख्य गरेर ध्यानीका लागि यो जागरणको महाकुम्भ पनि हो।

अज्ञानको अन्धकार मेट्ने पर्व हो। ‘भगवान् शिव आशुतोष हुनुहुन्छ। उहाँ भक्तका पीडा सहनुहुन्न। शिव भक्तको पीडा सहन सक्नुहुन्न,’ संस्कृतिविद् अच्युत पौडेल चिन्तन भन्छन्, ‘भोले शिव तुरुन्तै प्रसन्न हुनुहुन्छ। उहाँले भक्तलाई न्याय दिनुहुन्छ। उहाँले अभय दान गर्नुहुन्छ।’ प्राज्ञ विष्णु प्रभातका अनुसार शिवरात्रि पर्वले प्रकृति बुझाउँछ। ‘खस संस्कृतिमा मष्टो नै शिव हुन्। यो हाम्रो माटोको पहिचान हो। मातृपूजा र पितृपूजा यसैमा छ,’ उनी थप्छन्, ‘धर्तीको संरक्षण नै शिवको आराधना हो। शिवरात्रिमा धुनी जगाइन्छ। यो भित्री प्रकाशको प्रतीक हो।

ब्रह्माण्डमा १२ मुख्य ऊर्जा केन्द्र छन् अर्थात् १२ ज्योतिर्लिंग जुन दिव्य प्रकाश हुन्। नेपालभित्रै १२ ज्योतिर्लिंग छन् भनी शास्त्रीय आधारमा ठाउँ पत्ता लगाएका जगद्गुरु बालसन्तका अनुसार १२ ज्योतिर्लिंग मानव अस्तित्वका ऊर्जाकेन्द्र हुन्। सोमनाथदेखि विश्वनाथसम्म शिव व्याप्त छन्। केदारनाथदेखि रामेश्वरमसम्म शिव फैलिएका छन्। तर, यी सबैको शिर भने नेपालको राजधानी काठमाडौंमा अवस्थित श्री पशुपतिनाथ नै हुन्। नेपाल शिवको क्रीडाभूमि हो। शिव पुराणले नेपाललाई ‘पुण्य पुरी’ मान्छ। जगद्गुरु थप्छन्,

‘नेपाल आफैंमा एउटा सार्वभौम पुरी हो। यहाँका कण–कणमा महादेव हुनुहुन्छ। पशुपतिनाथ सबैका रक्षक हुन् जसले पशुत्वबाट मुक्त गर्नुहुन्छ। उहाँको दर्शनले मोक्ष मिल्छ। उहाँ नै विश्वको शिर हो।’

शिवमहापुराण मुक्तिको सोपान हो। यो पुराणले पाप नाश गर्ने जनविश्वास छ। जसले मानिसलाई सात्विक बनाउँछ। संस्कृतिविद् कुलप्रसाद पराजुली भन्छन्, ‘भक्ति र विवेकले मन समृद्ध बन्छ। पुराणको सन्देश परोपकार हो। यसले जीवन जिउने कला सिकाउँछ। यो ज्ञानको विशाल भण्डार हो।’ उनका अनुसार, शिवमहापुराणले तीन ताप समन गर्छ। यसले मानसिक शान्ति दिन्छ। यो पुराण सुन्नु मात्रपनि पुण्य हो। यसले कुसंस्कारबाट मुक्ति दिन्छ। यो पुराणले शिवलोकको बाटो देखाउँछ। यसले संकीर्णता तोडेर उदारताको पाठ सिकाउँछ।
शिव पूजाविधि अत्यन्त सरल छ। केवल जल र बेलपत्र पर्याप्त छ। तर भाव शुद्ध हुनुपर्छ। समर्पण नै पूजाको प्राण भएको बताउँदै प्रा. गौतम भन्छन्, ‘भिल्ल जीवात्माको प्रतीक हो।

व्याधाको कथाले यही सिकाउँछ। उसले नजानिकनै पूजा गर्‍यो। उसले अन्जानमै जागरण गर्‍यो। तर उसको हृदयमा करुणा जाग्यो।’ उनका अनुसार शिवरात्रिमा चार प्रहरको पूजा हुन्छ। प्रत्येक प्रहरमा अभिषेक गरिन्छ। पञ्चामृतले शिवलाई नुहाइन्छ। उपवासले शरीर शुद्ध पार्छ। जागरणले मन एकाग्र बनाउँछ। शिवलाई ‘भाङ–धतुरो’ चढाउनुको अर्थलाई उनी व्याख्या गर्छन्, ‘जसले नराम्रा बानी त्याग्न सिकाउँछ। हामीले शिवलाई विकार सुम्पनुपर्छ। अनि मात्र हामी पवित्र बन्छौं।’

शिव र शक्ति एक हुन्। शिव चेतना र ऊर्जाको योग भएको जानकारी दिँदै प्रा.डा. वीणा पौडेल भन्छिन्, ‘अस्तित्वको आधार नै प्रेम हो। शिव र पार्वतीको प्रेम दिव्य छ। ‘उनका अनुसार पार्वतीले कठोर तपस्या गरिन्। उनले शिवलाई सत्य मानिन्। उनले स्वार्थहीन प्रेमको सिकाइ दिइन्। पार्वतीको त्याग नै उनको शक्ति हो। ‘अर्धनारीश्वर स्वरूपले समानता सिकाउँछ। पुरुष र प्रकृति अभिन्न छन्। दुवैको अस्तित्व एकअर्कामा निर्भर छ’, उनी थप्छिन्। आजको समाजमा यो दर्शन जरुरी छ। प्रेममा धैर्य र संयम हुनुपर्छ।