“JobLink Connect” हङकङमा रोजगारी खोज्ने नयाँ मोबाइल एप


हङकङ। हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा विकसित गरिएको “JobLink Connect” मोबाइल एपको बेटा संस्करण सोमबार औपचारिक रूपमा सुरुवात गरिएको छ। नेपाली समुदायका लागि लक्षित यो एप सम्भवतः हङकङमा नेपाली व्यवसायीहरूले नै विकास गरेको पहिलो मोबाइल एप भएको दाबी गरिएको छ।

JobLink Connect को अवधारणा हङकङस्थित Chinese University of Hong Kong (CUHK) को EMBA कार्यक्रमअन्तर्गत MIT Hong Kong Innovation Node द्वारा सञ्चालित Think Like an Innovator पाठ्यक्रम अध्ययनको क्रममा परिष्कृत गरिएको हो। यो एप सन् २०१४ मा डीके दाहालद्वारा नेपाली समुदायका लागि सुरु गरिएको Viber र Facebook आधारित “कन्स्ट्रक्सन ग्रुप” को डिजिटल र आधुनिक संस्करणको रूपमा विकास गरिएको हो।

यस एपमार्फत कामदारहरूले घरमै बसेर आफ्नो सिप र दक्षताको आधारमा रोजगारी खोज्न सक्नेछन् भने रोजगारदाताहरूले पनि आवश्यक कामदार सजिलै फेला पार्न सक्नेछन्। JobLink

Connect विशेष गरी ब्लु–कलर कामदारहरू लाई लक्षित गरी डिजाइन गरिएको मोबाइल–फ्रेन्डली प्लेटफर्म हो, जसले कामदार र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न मद्दत गर्दछ।

एपले निर्माण (Construction), खाद्य तथा पेय पदार्थ (F&B), घरेलु सहयोगी (Domestic Helper), सेक्युरिटी गार्ड तथा बडीगार्ड, ड्राइभर, उत्पादन तथा म्यानुफ्याक्चरिङ, यातायात तथा लजिस्टिक्स, मर्मत तथा इन्स्टलेसन, हेल्थकेयर सपोर्ट लगायतका विभिन्न क्षेत्रमा रोजगारीका अवसरहरू समेट्ने जनाएको छ।

हाल हङकङमा रोजगारीको अभाव चुलिँदै गइरहेको र धेरै नेपालीहरू बेरोजगार रहेको अवस्थामा JobLink Connect एप नेपाली समुदायका लागि महत्वपूर्ण माध्यम बन्ने विश्वास लिइएको छ। एप टिमले हङकङस्थित नेपाली समुदायभित्र यसको व्यापक प्रचार–प्रसार गर्न सबैलाई आग्रह गरेको छ।

हङकङबाट सुरुवात गरिएको यो एपलाई भविष्यमा नेपालसहित विश्वका अन्य मुलुकहरूमा समेत विस्तार गर्ने योजना रहेको संस्थापक दाहालले जानकारी दिएका छन्।
JobLink Connect का Founder डिके दाहालले समुदायलाई सशक्त बनाउन निरन्तर साथ, सहयोग र समर्थनका लागि सबैप्रति आभार व्यक्त गर्नु्भयाे।