चितवन। चितवनमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको डेरी एक्स्पो आजदेखि सुरु भएको छ। चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा सञ्चालन भएको यस एक्स्पोले दुग्ध उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रमा नयाँ सम्भावना उजागर गर्ने उद्देश्य लिएको छ।
उद्घाटन समारोहमा बोल्दै आयोजक संस्था चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेडका अध्यक्ष किसाेर बगालेेले भने, “दुग्ध क्षेत्रको दिगो विकासका लागि आधुनिक प्रविधि, तालिम र बजार पहुँच अपरिहार्य छन्, र यो एक्स्पो त्यसकै प्रयास हो।”
एक्स्पोमा स्वदेशी तथा विदेशी डेरी उद्योगसँग सम्बन्धित कम्पनीहरूको सहभागिता रहेको छ। उनीहरूले आधुनिक प्रविधि, उपकरण तथा दुग्धजन्य उत्पादनहरूको प्रदर्शनी गरेका छन्। किसान, उद्यमी, सहकारीकर्मी तथा डेरी व्यवसायसँग आबद्ध सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
बागमती प्रदेश कृषि विकास मन्त्रालय का सचिव बैकुण्ठ अधिकारीका अनुसार, “यहाँ देखाइएका प्रविधि र उपकरणले हाम्रो उत्पादन क्षमता बढाउन ठूलो सहयोग पुग्ने देखिन्छ।”
आयोजकका अनुसार एक्स्पो अवधिभर अन्तरक्रिया कार्यक्रम, तालिम, गोष्ठी तथा अनुभव आदान–प्रदानका कार्यक्रमहरू आयोजना गरिने छन्।
यसले उत्पादनको गुणस्तर सुधार, बजार विस्तार र व्यवसायिक सञ्जाल निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
चितवनमा आयोजना गरिएको अन्तर्राष्ट्रिय डेरी एक्स्पोले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म दुग्ध क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास गरिएको कृषि तथा पशु विकास मन्त्रालयका सचिव दिपक खरालले बताउनु भयो।