Holy Academy मा वार्षिक खेलकुद दिवस भव्य रूपमा सम्पन्न,४७ खेलमा विद्यार्थीको उत्साहजनक प्रतिस्पर्धा


काठमाडौं। गोकर्णेश्वर नगरपालिका–८, बेशीगाउँ स्थित Holy Academyमा वार्षिक रूपमा आयोजना हुँदै आएको खेलकुद दिवस यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। “Building Stronger Bonds Beyond the Classroom”भन्ने नारासहित आयोजित कार्यक्रममा प्रि–प्राइमरीदेखि A, B र C डिभिजनसम्मका विद्यार्थीहरूले विभिन्न खेलमा सक्रिय सहभागिता जनाएका थिए।

विद्यालयका अनुसार यस वर्ष कुल ४७ वटा खेल सञ्चालन गरिएको थियो।जसअन्तर्गत प्रि–प्राइमरीतर्फ १३, C–डिभिजनमा १३, B–डिभिजनमा ११ तथा A–डिभिजनमा ८ वटा खेल समावेश गरिएको थियो।PG-collecting ball , chair arranged, picking ball, coins race, maths race, cup balance लगायतका रोचक तथा सृजनात्मक खेलहरूमा विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो।

करिब २०० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा झण्डै ६ घण्टासम्म सञ्चालन भएको कार्यक्रममा खेल सम्पन्न भएपछि विद्यालयका अध्यक्ष B. N. थापा, संस्थापक फुर्वा शेर्पा तथा उप–प्रधानाध्यापक अशोक लामाले विजेता विद्यार्थीहरूलाई पदक, ट्रफी तथा पुरस्कार प्रदान गर्नुभएको थियो।

संस्थापक शेर्पाले विजेता तथा सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा हुने अन्य कार्यक्रम तथा अन्तरविद्यालय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्नुभयो। उप–प्रधानाध्यापक लामाले विद्यालयको हरेक उपलब्धिमा विद्यार्थीहरूको सक्रियता र मेहनत महत्वपूर्ण हुने उल्लेख गर्दै शिक्षक–विद्यार्थी सहकार्यले उज्ज्वल भविष्य निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

विद्यालय अध्यक्ष थापाले खेलकुदसहित विद्यालयका सम्पूर्ण कार्यक्रम सफल बनाउन योगदान दिने व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गर्नुभयो। विद्यालय इन्चार्ज केशर सुब्बाले वर्षभरि singing, dancing लगायतका विभिन्न प्रतियोगिता आयोजना गरिँदै आएकाले विद्यार्थीहरूबीच मैत्रीपूर्ण वातावरण निर्माण हुने बताउनुभयो।

वार्षिक अतिरिक्त क्रियाकलापअन्तर्गत प्राप्त अंकका आधारमा house विजेता समेत घोषणा गरिएको थियो। red, blue, green र yellow house मध्ये यस वर्ष red house विजेता बनेको विद्यालयले जनाएको छ। कार्यक्रमको सञ्चालन को–अर्डिनेटर मिनिस्का श्रेष्ठले गर्नुभएको थियो।

यसैबीच, प्रि–प्राइमरीका साना नानीहरूले प्रस्तुत गरेका आकर्षक कार्यक्रमहरूले खेलकुद दिवसलाई थप रौनकपूर्ण बनाएको थियो। विद्यालयले अभिभावकहरूको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सम्पूर्ण सहभागी विद्यार्थीहरूको प्रयासको प्रशंसा गरेको छ।