काठमाडौँ। काठमाडौँमा संघ, प्रदेश तथा स्थानीय तहमा सञ्चालन भइरहेका मत्स्य विकास कार्यक्रमका अवस्था, चुनौती र समाधानका विषयमा केन्द्रित दुईदिने अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको छ। उक्त कार्यक्रम माघ २१ र २२ गतेसम्म कीर्तिपुरस्थित सरकारी तालिम केन्द्रमा आयोजना गरिएको छ। कार्यक्रममा मत्स्य क्षेत्रसँग सम्बन्धित सरकारी निकाय, प्रदेश तथा जिल्लास्तरका कार्यालय, विज्ञ, किसान प्रतिनिधि, मत्स्य ब्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्षता पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालले गर्नुभएको थियो। प्रमुख अतिथि रूपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण कुमार पाण्डे तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (NAMP) का कार्यक्रम निर्देशक हिक्मत श्रेष्ठ ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उद्घाटनसत्रमा प्रदेश मन्त्रालयका प्रतिनिधि, पशुपन्छी तथा मत्स्य विकास क्षेत्रका उच्च पदाधिकारी तथा विज्ञहरूको पनि उपस्थिति रहेको थियो।
केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र, बालाजुका प्रमुख सरिता गौतम ले नेपालमा मत्स्य विकास कार्यक्रमको वर्तमान अवस्था, चुनौती, अवसर तथा सुधारका सम्भावना बारे विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको छ। साथै, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (NAMP) अन्तर्गत सञ्चालन भइरहेका गतिविधि, प्रदेशस्तरीय अनुभव, नीति–व्यवस्था र आगामी रणनीति का बारेमा कार्यक्रम निर्देशक हिक्मत श्रेष्ठ ले पनि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
अध्यक्ष/महानिर्देशक, पशुसेवा विभाग (डा. उमेश दाहाल)ले बताउनुभयो, “मत्स्य विकास कार्यक्रमले देशभर उत्पादकत्व तथा रोजगारी सिर्जना गर्न ठूलो भूमिका खेल्न सक्छ। यस अन्तरक्रियाले संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय थप सुदृढ पार्नेछ र नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने दिशामा सहकार्यको मार्ग खोल्नेछ।”
यस्तै, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (NAMP)का कार्यक्रम निर्देशक हिक्मत श्रेष्ठले “मत्स्य विकास कार्यक्रमले स्थानीय उत्पादन क्षमता र कृषक परिवारको आयमा सकारात्मक प्रभाव पार्ने सम्भावना बोकेको बताएका छन। यस कार्यक्रम अन्तर्गत भएका गतिविधिहरू र नीति–व्यवस्थाबारे आजका छलफलले आगामी रणनीति मजबुत बनाउनेछ उनलेे भने।”
केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र प्रमुख सरिता गौतमले “नेपालमा मत्स्य विकासका वर्तमान अवस्था, चुनौती तथा सुधारका सम्भावनाहरू र यिनका समाधानका उपायहरू विस्तारमा प्रस्तुत गर्न पाउँदा मलाई खुशी लागेको छ। यस अन्तरक्रियाले नीति निर्माण र कार्यान्वयनमा यस्ता कार्यक्रमले सहयोग हुनेछ।”
आयोजकले जनाएको छ कि यस किसिमका अन्तरक्रिया कार्यक्रमले नीति तथा कार्यक्रमहरूलाई थप पारदर्शी, थप समन्वयशील र दिगो बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ, जसले मत्स्य विकास क्षेत्रलाई अझ प्रभावकारी र व्यवसायिक बनाउने दिशामा योगदान दिने विश्वास गरिएको छ।
