निपाह भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालय उच्च सतर्कतामा


काठमाडौं। नेपालमा हालसम्म निपाह भाइरसको संक्रमण पुष्टि नभएको भए पनि छिमेकी मुलुकमा देखिएको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ।

मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि देशभरका सरकारी तथा निजी अस्पतालहरूलाई तयारी अवस्थामा राखेको जनाएको छ।

मन्त्रालयका अनुसार शङ्कास्पद बिरामीको पहिचान, नमुना सङ्कलन, सुरक्षित ढुवानी तथा परीक्षणका लागि आवश्यक व्यवस्थापन गरिसकिएको छ। स्वास्थ्यकर्मीहरूलाई संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै ज्वरो, टाउको दुखाइ, बान्ता, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ। साथै, भ्रामक सूचनामा नपरी आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र विश्वास गर्न पनि मन्त्रालयले अपिल गरेको छ।

मन्त्रालयले निपाह भाइरससम्बन्धी अवस्थाको निरन्तर अनुगमन गरिरहेको र आवश्यक परे थप तयारी तथा कदम चालिने स्पष्ट पारेको छ।