चितवन। डेरी उद्योगको प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा किसानदेखि उद्योगी र उपभोक्तासम्मको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ चितवनमा आयोजना हुने भएको छ। एक्स्पो भरतपुरस्थित प्रदर्शनी केन्द्रमा २०८२ साल माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले पत्रकार सम्मेलनमार्फत एक्स्पोबारे जानकारी दिँदै डेरी क्षेत्र ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनले भने, “दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्नु, उत्पादनको गुणस्तर सुधार गर्नु र आधुनिक प्रविधिसँग जोड्नु अहिलेको आवश्यकता हो। यही उद्देश्यका साथ अन्तर्राष्ट्रिय स्तरको डेरी एक्स्पो आयोजना गर्न लागिएको हो।”
अध्यक्ष बगालेका अनुसार एक्स्पोमा दुग्ध उत्पादन, प्रशोधन, भण्डारण, प्याकेजिङ, गुणस्तर परीक्षण, पशु स्वास्थ्य तथा व्यवस्थापनसँग सम्बन्धित अत्याधुनिक प्रविधि, उपकरण र सामग्रीको प्रदर्शनी गरिनेछ। साथै साना तथा मझौला किसान, उद्योगी र व्यवसायीका लागि तालिम, कार्यशाला, अन्तरक्रियात्मक कार्यक्रम तथा अनुभव आदान–प्रदानको अवसरसमेत प्रदान गरिनेछ।
यसका साथै उन्नत जातका गाई तथा भैंसीको विशेष प्रदर्शनीसमेत आयोजना गरिने उनले जानकारी दिए। यसले किसानलाई उन्नत नश्ल छनोट, पालनपोषण तथा उत्पादन क्षमता वृद्धिबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एक्स्पोका प्रवर्द्धकको रूपमा रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले डेरी एक्स्पोले नेपालको दुग्ध उद्योगलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले भने, “दुग्ध उत्पादन, गुणस्तर र बजार विस्तारका लागि नीति, प्रविधि र लगानीबीच समन्वय आवश्यक छ। डेरी एक्स्पोले सरोकारवाला सबै पक्षलाई एउटै थलोमा ल्याएर दीर्घकालीन समाधान खोज्न सहयोग गर्नेछ।”
त्यसैगरी केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष अम्मर बहादुर कुँवरले एक्स्पो किसानमुखी कार्यक्रम भएको बताउँदै दुग्ध उत्पादक किसानको आय वृद्धि र उद्योगको दिगोपनाका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए। उनले भने, “देशभरका दुग्ध उत्पादक सहकारी, उद्योगी, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको अवसर यही एक्स्पोले दिनेछ।”
एक्स्पो अवधिभर दुग्ध क्षेत्रसँग सम्बन्धित विविध प्रतियोगिता, हाजिरीजवाफ, नीति तथा वर्तमान चुनौतीमाथि छलफल, उत्कृष्ट दुग्ध उत्पादक सहकारी सम्मान कार्यक्रम तथा डेरी फुड फेस्टिभलसमेत आयोजना गरिने जनाइएको छ।
आयोजकका अनुसार निःशुल्क प्रवेश रहने यस अन्तर्राष्ट्रिय डेरी एक्स्पोमा दुग्धजन्य उत्पादन उद्योगी, उद्यमी बन्न इच्छुक व्यक्ति, नीति निर्माता, सरकारी अधिकारी, अनुसन्धानकर्ता, लगानीकर्ता तथा आम उपभोक्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

