एभरेष्ट बैंकको खुद नाफा बढ्यो


काठमाडौं। एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले दुई अर्ब एघार करोड ७१ लाख खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

यो गत आर्थिक वर्षको तुलनामा २.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले दुई अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले चालु आवको पहिलो छ महिनासम्म दुई खर्ब ३६ अर्ब ४२ करोड कर्जा लगानी गरेर सो नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । खुद ब्याज आम्दानी सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २०.३८ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा २.०६ प्रतिशत बढेको छ ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २० पैसा घटेर ३० रुपैयाँ ८६ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ७२ पैसा रहेको छ।

१३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।