काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) बीच चार्टर्ड एकाउण्टेण्टहरूलाई लक्षित गर्दै विशेष सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै संघमा आबद्ध सदस्यहरूले गरिमा विकास बैंकबाट १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा, आकर्षक ब्याजदरका साथै विभिन्न बैंकिङ सेवाहरूमा विशेष छुट र प्राथमिकता प्राप्त गर्नेछन्।
पेशागत उन्नति, व्यवसाय विस्तार तथा व्यक्तिगत आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चार्टर्ड एकाउण्टेण्टहरूलाई थप सहज, सुरक्षित र भरपर्दो बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन्। यस सहकार्यपछि चार्टर्ड एकाउण्टेण्टहरूले न्यूनतम कागजी प्रक्रियामार्फत ७५ हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नेछन्।
त्यसैगरी, आवश्यक प्रक्रिया पूरा गरी बिना धितो १५ लाख रुपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा समेत उपभोग गर्न सकिने व्यवस्था मिलाइएको छ।
पेसाकर्मीहरूको आवश्यकता र व्यावसायिक जीवनशैलीलाई मध्यनजर गर्दै बैंकले घर कर्जा तथा सवारी साधन कर्जामा समेत आकर्षक ब्याजदरको विशेष प्रस्ताव ल्याएको छ, जसले चार्टर्ड एकाउण्टेण्टहरूलाई दीर्घकालीन आर्थिक योजना बनाउन थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।