एनआरएनए महेश कुमार श्रेष्ठ समूहका कोषाध्यक्ष ढुंगाना विद्यार्थी ठगी प्रकरणमा सिआइबीको खोजी सूचीमा


काठमाडौं।नेपाली विद्यार्थीलाई दुबई पठाइ अध्ययनको नाममा ठगी गरिएको घटनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) का एक पदाधिकारीको संलग्नता देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको अनुसन्धानमा एनआरएनए महेश कुमार श्रेष्ठ समूहका केन्द्रीय कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाको नाम जोडिएको हो।

सिआइबीका अनुसार उक्त प्रकरणमा हालसम्म पाँच जनालाई पक्राउ गरिएको छ भने ढुंगाना सहित केही व्यक्ति फरार छन्। उनीहरूलाई पक्राउ गर्न अदालतबाट अनुमति लिइसकिएको सिआइबी स्रोतले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

अनुसन्धान अनुसार लाजिम्पाटस्थित कान्तिपुर अब्रोड कन्सलटेन्सी प्रालिका सञ्चालक रहेका ढुंगानाको मिलेमतोमा नेपाली विद्यार्थीलाई दुबई लगेर ठगी गरिएको आशंका गरिएको छ। सोही कम्पनीका अर्का सञ्चालक दामोदर ढकाल र हेमराज भट्टलाई सिआइबीले यसअघि नै पक्राउ गरिसकेको छ।

प्रहरीका अनुसार ढकाल र भट्टले नेपालमा विद्यार्थी संकलन गर्ने र दुबईमा ढुंगानाले कलेजका नाममा सञ्चालित तालिम केन्द्रमार्फत अध्ययन गराउने व्यवस्था मिलाउँदै आएका थिए। तर ती केन्द्रहरू औपचारिक कलेज नभई सामान्य तालिम केन्द्र मात्र रहेको र सम्बन्धित देशको उच्च शिक्षा निकायबाट अनुमति नलिएको खुलेको छ।

विद्यार्थीलाई अष्ट्रेलिया र फ्रान्सका कलेजसँग सम्बन्धन रहेको भन्दै दुबई लगिने र प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म असुली गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको सिआइबीले जनाएको छ। यस सम्बन्धमा पीडित विद्यार्थीहरूले केही महिनाअघि शिक्षा मन्त्रालयमा समेत उजुरी दिएका थिए।

सिआइबीले यस प्रकरणमा बेष्ट पाथ एजुकेशन कन्सलटेन्सी, मर्सी एजुकेशन कन्सलटेन्सी र सिटीहब एजुकेशन नेटवर्कका सञ्चालकहरूलाई पनि पक्राउ गरेको जनाएको छ। अन्य केही कन्सलटेन्सी सञ्चालक फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले बताएको छ।

सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विभिन्न देशका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गराइदिने प्रलोभन देखाएर ठुलो रकम असुल गरिएको उल्लेख छ। घटनाले वैदेशिक शिक्षा क्षेत्रमा भइरहेको अनियमितता र ठगीप्रति पुनः प्रश्न उठाएको छ।

प्रहरीका अनुसार अनुसन्धान निष्कर्षपछि थप कानुनी कारबाही अघि बढाइनेछ।