उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको छ-अध्यक्ष देवकुमार ढकाल


काठमाडौं। बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए । ‘हाल पूँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक संकेत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ’, उनले भने ।

कर्जा प्रवाह बढाउनु चुनौती भएको स्वीकार गर्दै  उनले भने,  ‘बैंकको पूँजीको आधार सुदृढ बनाउन तीन खर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको तयारीमा रहेको छ । बैंकसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा एक खर्ब ७१ अर्ब रुपैयाँ तथा तरलताका आधारमा एक खर्ब ३९ अर्ब रुपैयाँको लगानीयोग्य रकम देखिएतापनि पूँजी पर्याप्ताका आधारमा थप १८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गर्ने अवस्था छ ।’

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१ औं वार्षिकोत्सव समारोह कार्यक्रममा अर्थमन्त्री खनालले ऋणीहरूको मनोविज्ञान बुझेर कर्जा विस्तार गर्नुपर्ने, ऋणी प्रोफाइलिङ प्रणाली विकास गर्नुपर्ने तथा नगद कारोबारभन्दा डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । साथै धितोमा आधारित कर्जा प्रणालीभन्दा क्रेडिट स्कोरको आधारमा कर्जा लगानी गर्ने व्यवस्था लागू गर्न सके उद्यमशीलता, आयआर्जन र तिर्न सक्ने क्षमतामा आधारित अर्थतन्त्र विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री खनालले बैंकको ६१ औं वार्षिकोत्सव विशेषाङ्क स्मारिका उपहार २०८२ विमोचन गर्नुका साथै यस वर्ष सञ्चालनमा ल्याइएका १२ वटा शाखा कार्यालयहरू डिजिटल माध्यमबाट औपचारिक रूपमा उद्घाटन गर्नुभयो । साथै बैंकको नयाँ प्रडक्ट “आरबिबि फोन लोन” को पनि शुभारम्भ गर्नुभयो । कार्यक्रममा बैंकमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदकसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजार भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । चुक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ भएको बैंकले चालु आ.व.का छ महिनामा कुल निक्षेप पाँच खर्ब ५३ अर्ब रुपैयाँ सङ्कलन तथा  १९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।

‘हाल पूँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक संकेत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ’, उनले भने ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम ६ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड रुपैयाँ भएको जनाएको छ ।