युनिसेफ र फिनल्यान्ड सरकारको सहकार्यमा आपतकालीन शिक्षाबारे फोटो प्रदर्शनी


काठमाडौँ, युनिसेफ र फिनल्यान्ड सरकारले आज झल्को: पश्चिम रुकुमका झलकहरू नामक बालबालिकाले खिचेका फोटोहरूको प्रदर्शनीको उद्घाटन गरेका छन्। यस प्रदर्शनीले संकटपछिको अवस्थामा पनि शिक्षा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा बालबालिकाको आफ्नै दृष्टिकोणबाट देखाएको छ।
यो प्रदर्शनी नेपाल सरकार, युनिसेफ र फिनल्यान्ड सरकारबीचको दीर्घकालीन साझेदारीको हिस्सा हो, जसको उद्देश्य आपतकालबाट प्रभावित बालबालिकाका लागि शिक्षाको निरन्तरता सुनिश्चित गर्नु हो।

“संकटपछिको अवस्थामा पनि सिकाइ निरन्तर रहनु कति महत्त्वपूर्ण छ भन्ने कुरा प्रदर्शनीले उजागर गर्छ।”

“जब संकट आउँछ र विद्यालयहरू क्षतिग्रस्त हुन्छन्, शिक्षा जीवन जोगाउने माध्यम बन्छ। यसले बालबालिकालाई सुरक्षा, नियमितता, मानसिक सहयोग र सामान्य जीवनतर्फ फर्किने अनुभूति दिन्छ। भूकम्प, बाढी जस्ता प्राकृतिक विपद्का बाबजुद पनि बालबालिकाको सिकाइ निरन्तर राख्न नेपालले दृढ प्रतिबद्धता देखाएको छ। फिनल्यान्ड सरकार सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा नेपाल सरकार र साझेदारहरूसँग काम गर्न पाउँदा गर्व गर्छ,” फिनल्यान्डका नेपालस्थित राजदूत महामहिम श्री पेट्री पुहाक्काले भन्नुभयो।
बालबालिकालाई आफ्नो पुनःस्थापनामा सक्रिय सहभागीका रूपमा स्वीकार गर्दै, युनिसेफ र फिनल्यान्ड सरकारले नोभेम्बर २०२५ मा कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लास्थित श्री भेरी दोभान माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि तीनदिने फोटोग्राफी कार्यशाला आयोजना गरेका थिए। यो विद्यालय २०२३ मा जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पबाट क्षति पुगेका ७४६ विद्यालयहरूमध्ये एक हो।

भूकम्प तथा आपतकालीन अवस्था पछि युनिसेफले ३८३ अस्थायी सिकाइ केन्द्रहरू स्थापना गरी तत्काल सिकाइ निरन्तरता सुनिश्चित गरेको थियो। यस कार्यलाई अगाडि बढाउँदै, युनिसेफ–फिनल्यान्ड साझेदारीले अर्धस्थायी सिकाइ केन्द्रहरू निर्माण गरिरहेको छ। अहिलेसम्म ५० विद्यालयहरूमा ५६ अर्धस्थायी केन्द्रहरू निर्माण भइसकेका छन्, जसमा श्री भेरी दोभान विद्यालय पनि पर्छ। यी केन्द्रहरूमा बालक र बालिकाहरूका लागि छुट्टाछुट्टै आधारभूत खानेपानी तथा सरसफाइ सुविधा पनि छन्। यी केन्द्रहरूले संकटपछि बालबालिकाको मानसिक तथा सामाजिक स्वास्थ्य सुधार गर्न र आत्मबल बढाउन पनि सहयोग गर्छन्। थप ९० अर्धस्थायी सिकाइ केन्द्रहरू निर्माणाधीन छन्।
श्री भेरी दोभान विद्यालयमा भएको फोटोग्राफी कार्यशालामा बालबालिकालाई आफ्नै जीवनका क्षणहरू फोटोमार्फत देखाउन प्रोत्साहित गरिएको थियो। उनीहरूका तस्बिरहरूले उनीहरूको विद्यालय जाने बाटो, कक्षा कोठा र उनीहरूका लागि महत्वपूर्ण क्षणहरू देखाउँछन्। यी तस्बिरहरूले संकटमा बालबालिकाले भोग्ने अनुभव र उनीहरूका पुनःस्थापनाको यात्रा झल्काउँछन्।
झल्को शब्दले “एक झलक” भन्ने अर्थ दिन्छ। यो प्रदर्शनीले बालबालिकाको आवाज, सिर्जनशीलता, उत्थानशीलता र आत्मविश्वासलाई सशक्त रूपमा प्रस्तुत गरेको छ। आपतकालीन अवस्थाका शैक्षिक कार्यक्रमहरूमा बालबालिकाको कुरा सुन्नु र उनीहरूलाई आफ्ना कुराहरू अभिव्यक्त गर्ने अवसर दिनु कति आवश्यक छ भन्ने कुरा यसले देखाउँछ।
“आपतकालपछि शिक्षा भनेको केवल पढाइ मात्र होइन, यो स्थिरता, सुरक्षा र आशाको बाटो हो। बालबालिकालाई केन्द्रमा राखेर उनीहरूको अनुभव सुन्दा मात्र दिगो पुनःस्थापना सम्भव हुन्छ,” युनिसेफ नेपालकी प्रतिनिधि श्री एलिस अकुङ्गाले भन्नुभयो।
अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर २४ र २५ जनवरी २०२६ सम्म पाटन दरबार क्षेत्रमा सर्वसाधारणका लागि खुला रहने यो प्रदर्शनीले आपतकालीन शिक्षामा निरन्तर लगानीको आवश्यकता औँल्याएको छ, ताकि संकटको अवस्थामा पनि हरेक बालबालिकाले सिक्न, सुरक्षित रहन र उज्ज्वल भविष्य निर्माण गर्न सकून्।