काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा वैदेशिक रोजगारीका लागि चार लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार साउन एक गतेदेखि पुस मसान्तसम्म कुल चार लाख २ हजार ७४ जनाले श्रम स्वीकृति लिएर विदेशिएका हुन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा तिन लाख ९३ हजार ६७ जना ले श्रम स्वीकृति लिएका थिए। यस आधारमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या नाै हजार ७ जनाले वृद्धि भई २.२९ प्रतिशतले बढेको विभागले जनाएको छ।
विभागका अनुसार पुस महिनामा मात्रै ५५ हजार ५४१ पुरुष र ७ हजार १८ महिला गरी कुल ६२ हजार ५५९ जनाले श्रम स्वीकृति लिएका छन्। उनीहरू १०५ देशमा वैदेशिक रोजगारीमा जान अनुमति लिएका हुन्।
मासिक तथ्यांक अनुसार २०८२ साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७०५ र पुसमा ६२ हजार ५५९ जना ले श्रम स्वीकृति लिएका छन्।
पुस महिनामा सबैभन्दा धेरै नेपालीले साउदी अरेबिया, कतार, युनाइटेड अरब इमिरेट्स (यूएई), मलेसिया, कुवेत, रोमानिया, जापान, ओमान, बहराइन र क्रोएसिया जान श्रम स्वीकृति लिएका छन्। विभागका अनुसार पुसमा साउदी जान १३ हजार ३२९, कतार १२ हजार ४६, यूएई ९ हजार ५१७, मलेसिया ८ हजार ५३२, कुवेत ४ हजार ३३१, रोमानिया २ हजार १२३, जापान १ हजार ६०२, ओमान १ हजार ५१६, बहराइन १ हजार ७६ र क्रोएसिया ९०९ जना ले श्रम स्वीकृति लिएका हुन्।
त्यसैगरी आर्थिक वर्ष २०८१/८२ को
- पहिलो महिना साउनमा ५९ हजार ५७५,
- भदौमा ५७ हजार ४९३,
- असोजमा ५३ हजार ५२५,
- कात्तिकमा ७० हजार ९९०,
- मंसिरमा ८४ हजार २२६ र
- पुसमा ६७ हजार २५८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।
वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढ्दै जाँदा देशभित्र रोजगारी सिर्जनाको चुनौती थप गहिरिँदै गएको सरोकारवालाहरूको भनाइ छ।