नेपाल–भारतबीच निकासी वस्तुको आगमन पूर्व सूचना आदान-प्रदान गर्न MoU मा हस्ताक्षर


काठमाडौं। भारत र नेपालबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन नेपाल सरकार र भारत सरकारबीच “निकासी गरिने वस्तु आगमन पूर्व सूचना आदान-प्रदान सम्बन्धी समझदारीपत्र (MoU on Cooperation in the Exchange of Pre-Arrival Information of Export of Goods for Trade Facilitation and Customs Control Between Nepal and India)” मा आज २०८२ साल माघ ७ गते (January 21, 2026) औपचारिक रूपमा हस्ताक्षर सम्पन्न भएको छ।

भारतको नयाँ दिल्लीमा आयोजित औपचारिक कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारत तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (CBIC) का अध्यक्ष विवेक चतुर्वेदी ले सो समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको हो।

सम्झदारीपत्रअनुसार, आगामी सञ्चार व्यवस्थासँगै दुवै देशबीच निकासी गरिने वस्तुको आगमन पूर्व सूचना आदान-प्रदान गरेर जोखिम विश्लेषण मार्फत भन्सार नियन्त्रण तथा व्यापार सहजीकरण थप प्रभावकारी बनाइने व्यवस्था गरिएको छ। यसले भन्सार प्रक्रियामा लाग्ने समय कम गर्दै सुरक्षित र छिटो अन्तर्राष्ट्रिय व्यापार सुनिश्चित गर्ने शासनमूलक अभ्यासलाई अघि बढाउने अपेक्षा गरिएको छ।

सम्झदारीपत्रका मुख्य प्रावधानअनुसार:

  • जोखिम विश्लेषणको आधारमा भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने,

  • विद्युतीय माध्यमबाट निकासी तथ्याङ्क आदान-प्रदान गर्ने,

  • प्राप्त सूचनालाई यो समझदारीपत्रअनुसार मात्र उपयोग गर्ने,

  • कार्यान्वयनका लागि दुवै पक्षले सम्पर्क अधिकारी तोक्ने,

  • प्रारम्भमा तोकिएका वस्तुहरुमा नमूना रूपमा कार्यान्वयन गरी पछि सबै वस्तुमा विस्तार गर्ने,

  • कार्यान्वयन सम्बन्धी विवाद भएमा कुटनीतिक मार्फत् समाधान गर्ने तथा

  • आवश्यक परे समझदारीपत्रमा संशोधनसमेत गर्न सकिने व्यवस्था समावेश गरिएको छ।

सम्झदारीपत्रमा हस्ताक्षर गर्दै भन्सार विभागका महानिर्देशक भण्डारीले भारतीय पक्षलाई धन्यवाद ज्ञापन गर्दै यो MoU छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान जोड दिनुभएको थियो। उहाँले उल्लेख गर्नुभयो कि यस साझेदारीले जोखिम विश्लेषणमार्फत् जोखिमयुक्त वस्तुका निगरानी तथा नियमनमा सहयोग पुर्‍याउनेछ र सहकारी व्यवसायीहरुलाइ थप सहजीकरण गरी द्रुत र सहज भन्सार जाँच-पास सुनिश्चित हुनेछ।

उक्त कार्यक्रममा नेपालको तर्फबाट महानिर्देशकसहित चार जना प्रमुख अधिकारीको उपस्थिति रहेको थियो भने भारतका तर्फबाट CBIC का अध्यक्ष तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।

दुवै पक्षले समझदारीपत्रमार्फत् भन्सार प्रशासन बीचको सम्बन्ध थप बलियो बनाउने र व्यापार सहजीकरणलाई नयाँ उचाइमा पुर्‍याउने आशा व्यक्त गरेका छन्।