कामना सेवा विकास बैंकको नाफामा दोहोरो अंकको छलाङ, प्रमुख सूचकमा सकारात्मक संकेत


काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ। बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २२.३४ प्रतिशतले वृद्धि भएको छ।

बैंकले सार्वजनिक गरेको साउन–पुस अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार यस अवधिमा ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफासँगै बैंकको खुद ब्याज आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी ११.१८ प्रतिशतले बढेर १ अर्ब २१ करोड १४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि २०.९१ प्रतिशतले वृद्धि भई ५६ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ४६ करोड ९१ लाख रुपैयाँ थियो।

त्यसैगरी, पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २९ करोड ५७ लाख रुपैयाँ कायम भएको छ। वित्तीय सूचकहरूमा देखिएको यस सुधारले बैंकको समग्र वित्तीय अवस्था थप सुदृढ बन्दै गएको संकेत गरेको छ।