राससका ज्यालादारी र करार सेवाका कर्मचारी सामाजिक सुरक्षा योजनामा समेटिए


काठमाडौँ,  राष्ट्रिय समाचार समिति (रासस) मा अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्।

आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले राससका ती कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्धतासम्बन्धी परिचयपत्र वितरण गर्नुभयो। सो अवसरमा उहाँले जिम्मेवार, जवाफदेही र व्यावसायिक सञ्चार माध्यमका रूपमा राससले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।

मन्त्री खरेलले पछिल्लो समय राससले आफूलाई निखार्दै अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सुझाव दिनुभयो। फरक प्रसङ्गमा उहाँले सीमित समयावधिका बाबजुद अन्तरिम सरकारले दीर्घकालीन महत्वका काम गरेको उल्लेख गर्दै देश बचाउन र बनाउन सबै तह र तप्काले आ–आफ्नो क्षेत्रबाट इमानदारिताका साथ योगदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रधानमन्त्री सुशीला कार्कीको विशेष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा रासस र सामाजिक सुरक्षा कोषबीच अस्थायी, करार तथा ज्यालादारी सेवामा कार्यरत राससका जनशक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

सरकारले सार्वजनिक संस्थामा कार्यरत जनशक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था लागू गरेसँगै राससमा कार्यरत १७ जना ज्यालादारी तथा करार सेवाका कर्मचारी लाभान्वित भएका छन्।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा योजनामा सहभागिता हुनु बचत मात्र नभई योगदानकर्ताको जीवन सुरक्षासँग प्रत्यक्ष सम्बन्धित रहेको बताउनुभयो।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाल पत्रकार महासङ्घको नेतृत्वमा रहँदा श्रमजीवी पत्रकारका हकहितका विषय उठाउँदै आएको स्मरण गर्दै राससमा कार्यरत ज्यालादारी तथा करार सेवाका जनशक्तिलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सफल हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो। “त्यो बेलाको अभियान आज पूरा गर्न सकेको छु,” उहाँले भन्नुभयो।

कोषमा आबद्ध हुने योगदानकर्ताको पारिश्रमिकको ६० प्रतिशतलाई आधार मानी त्यसको २० प्रतिशत रासस र ११ प्रतिशत योगदानकर्ताका तर्फबाट गरी मासिक ३१ प्रतिशतका दरले रकम कोषमा सञ्चय हुनेछ।

योगदानकर्ताले कोषमार्फत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अपाङ्गता सुरक्षा र आश्रित परिवार सुरक्षालगायत सुविधा प्राप्त गर्नेछन्। हाल देशभर करिब २६ लाख ५० हजार योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध रहेका छन्।